भालुवाङ। गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि संघीय सत्ताबाट पुराना दल बढारिए पनि प्रदेशमा भने उनीहरूकै वर्चश्व कायम छ ।
सत्ता स्वार्थ, कुशासन, विकृति लगायतका विषयमा बढ्दै नैराश्यतालाई समयमै सम्बोधन गर्न नसक्दा जेनजी पुस्ताले विद्रोह गरेका थिए । जेनजी विद्रोहकै कारण तत्कालीन प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन गराइएको थियो, जसमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमत पाएको छ ।
यसका बाबजुद प्रदेश तहमा पुराना दलहरूले सत्ता केन्द्रित राजनीतिलाई नै प्राथमिकता दिइरहेका छन् । यसको पछिल्लो उदाहरण प्रदेश सरकारमा नेतृत्व परिवर्तनका कसरतलाई लिन सकिन्छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धनका आधारमा बनेका प्रदेश सरकारमध्ये केहीमा नेतृत्व परिवर्तनका लागि छलफल चलेको छ । सोही क्रममा लुम्बिनी प्रदेश सरकारको पनि नेतृत्व परिवर्तन गर्ने तयारी भइरहेको छ ।
हाल लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा एमाले छ । कांग्रेस र एमालेबिच भएको आलोपालो सहमतिअनुसार अब लुम्बिनी सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गृहकार्य भइरहेको स्रोतहरूले बताएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले मंगलबार दाङको देउखुरी पुगेर सरकारको नेतृत्व परिवर्तनको सङ्केत दिनुभएको हो । उहाँले प्रदेश सरकारलाई बजेट निर्माणको काम ढिला नगर्न निर्देशन दिएको बताइएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले सरकारको नेतृत्व परिवर्तनबारे छलफल भइरहेको स्वीकार गर्दै समय भने टुङ्गो नलागेको बताउनुभयो ।
हाल लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री रहनुभएको छ । कांग्रेससँग भएको १८/१८ महिनाको आलोपालो नेतृत्व सहमतिअनुसार २०८१ साउनमा आचार्य मुख्यमन्त्री बन्नुभएको थियो । उक्त सहमतिअनुसार गत फागुनमै नेतृत्व हस्तान्तरण हुनुपर्ने थियो । यद्यपि नेपाली कांग्रेसभित्रको विवादका कारण यो विषय प्राथमिकतामा परेन ।
आलोपालो सहमति अनुसार अब नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । लुम्बिनी प्रदेश सभामा एमालेको २९, नेपाली कांग्रेसबाट २७ सिट छ । हाल प्रदेश सभामा ८३ सिट छ । कुल ८७ सिट रहे पनि ४ जना प्रदेश सभा सदस्य राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदार बनेका थिए । अहिले सो आधारमा बहुमत पुर्याउन कम्तीमा ४२ सिट भए पुग्छ । त्यस आधारमा कांग्रेस, एमालेको सांसद जोड्दा ५६ हुन्छ । नेकपाबाट १३ सांसद छन् ।



