काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको हो ।
यसैबीच आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न सोमबारबाट लागु हुने गरि निर्वाचन आचारसंहिता समेत जारी गरेको छ ।
आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ । यसअघि राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।
निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।