हरर फिल्म ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं । अस्ट्रेलियामा बनेको नेपाली चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । नेपालीहरुको बाक्लै बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा निर्माण गरिएको ‘पर्पला’ थ्रिलर हरर चलचित्र हो ।

कोरोना महामारीले विश्वग्रस्त भए पनि नेपाली चलचित्र निर्माणलाई पनि निरन्तरता दिनुपर्छ भन्ने उद्देश्य राखेर ‘पर्पला’ निर्माण गरिएको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित भएर चलचित्रको कथा लेखिएको उनले बताए ।

हलिउड प्राविधिक र नेपाली चलचित्रकर्मीको सहकार्यमा निर्मित चलचित्रको पहिलो चरणको छायांकन अष्ट्रेलियामा गरिएको र दोस्रो चरणको छायांकन छिट्टै गरेर चलचित्रलाई प्रदर्शनमा ल्याउने निर्माण पक्षले बताएको छ ।

फर्स्ट लुकमा चलचित्रकी मुख्य अभिनेत्री निखिला बुढाथोकीलाई मात्र प्रस्तुत गरिएको छ । आधा मुहार मात्र प्रस्तुत गरिएको उनको आँखाबाट रगत चुहिएको छ । एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका मनोज ‘पर्पला’ चलचित्रका लेखक तथा निर्देशक हुन् । उनले अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए ।

‘पर्पला’मा मुख्य अभिनेताको रुपमा पुकार गौतम रहेका छन् । आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवि अधिकारी र सरोजकुमार वाइबा चलचित्रमा निर्माता हुन् ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस