स्वास्थ्यका लागि हिटर किन हानिकारक

काठमाडौं । कतिपय मानिसहरूलाई धेरै चिसो लाग्छ र उनीहरु हरेक समय हिटर अघि नै बिताउने गर्छन्। हिटरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर, स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ।

हिटरबाट हुने हानी

हिटरबाट निस्कने हावाले छालालाई धेरै सुख्खा बनाउँछ। हिटरका कारण मानिसमा निद्रा नलाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्या आउन सक्छ। कन्भेन्सन हिटर, हलोजन हिटर र ब्लोअरको अत्याधिक प्रयोगले तपाईलाई बिरामी बनाउन सक्छ। यी हिटरहरूबाट निस्कने रसायनहरू सास लिने माध्यमबाट शरीरमा प्रवेश गर्छ र भित्री भागहरूमा क्षति पुर्‍याउँछ, विशेष गरी यदि तपाईंलाई दम वा एलर्जी छ भने यसले झनै असर गर्छ।

कस्ता व्यक्तिलाई हुन्छ बढी हानी

दमका बिरामीहरू रुम हिटरबाट सबैभन्दा बढी पीडित हुन्छन्। यदि तपाईलाई श्वासप्रश्वासको समस्या छ भने, हिटरबाट निश्चित दूरीमा बस्नुहोस्। यसबाहेक ब्रोन्काइटिस र साइनसका बिरामीलाई पनि एलर्जी हुन सक्छ।

ग्यास हिटरबाट सावधान रहनुस्

अध्ययनका अनुसार ग्यास हिटर वा एलपिजी हिटर बढी प्रयोग हुने घरका बालबालिकामा दमको समस्या बढी पाइन्छ। यसबाहेक खोकी, हाच्छ्युँ, छातीमा घरघराहट हुने र फोक्सोमा क्षति पुग्ने लक्षण पनि बढी देखिन्छन्। यी हिटरहरूबाट उत्सर्जित कार्बन मोनोअक्साइड विशेष गरी साना बालबालिका र वृद्धवृद्धाहरूको लागि हानिकारक छ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस