हलमा लाग्यो ‘कठपुतली’, दर्शक फर्काउने आश

काठमाडौं । शुक्रबार (आज) बाट फरक धार र ट्रेलरले आश जगाएको फिल्म ‘कठपुतली’ देशव्यापी प्रदर्शनमा आएको छ । बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि आफ्नो ९ मेजर स्टेशनमा कूल १४ शोज दिएको छ । शुक्रबार फिल्मको बुकिङ राम्रो रहेकाले शनिबारबाट क्यूएफएक्सले शो संख्या थप गर्ने देखिएको छ ।

बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ । काठमाडौं र मोफसलमा फिल्मको शनिबारको बुकिङ पनि राम्रो छ ।

मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् ।

पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले फिल्म खिचेका हुन् । फिल्मले राजाहरुको शासन कालको कथा भनेको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस