
काठमाडौं । सुडानको राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगेको छ । सुडान सरकारले नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो ।
ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।
इन्टरनेट सेवा दिने एक कम्पनीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै दूरसञ्चार सेवा नियन्त्रण गर्ने सुडानको नेशनटल टेलिकम कर्पोरेशनको निर्णयपछि इन्टरनेट सेवा ठप्प भएको छ ।
मिडिया रिपोर्टकाअनुसार सरकारले धेरै पुलहरु पनि बन्द गराएको छ । साथै प्रदर्शनकारीलाई कुनै गडबडी नगर्न चेतावनी दिइएको छ ।
आयोजकले सबैलाई सडकमा उत्रिन अपिल गरेको थियो । प्रदर्शनकारीहरुले नागरिकको शासन बहाल गर्न माग गर्दै आएका छन् ।