तुलसीपुर । पछिल्लो पटक ‘बुद्ध वर्न इन नेपाल’ चलचित्र निर्माण गरेका लोकप्रिय अभिनेता रमित ढुंगाना फेरि सामाजिक विषयवस्तुमै आधारित चलचित्र निर्माण गर्न तम्सिएका छन्। चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले मंगलबार ढुंगानासँग आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमबाट उनले नयाँ चलचित्रको घोषणा गरेका हुन्।
अभिनेता ढुंगानाले अब एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित बायोपिक चलचित्र बनाउने भएका छन् । अहिले प्रि-प्रोडक्सनमा रहेको चलचित्र यही पौष महिनाको अन्तिम हप्ताबाट फ्लोरमा निस्कने गरि काम तीव्र गतिमा भइरहेको अभिनेता ढुंगानाले बताए।
चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अभिनेता रमितले ‘बुद्ध वर्न इन नेपाल’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएपछि आफू बायोपिक चलचित्र बनाउने निर्णयमा पुगेको बताए। मुस्कान खातुनमा आधारित चलचित्रको नाम भने केही दिनमा घोषणा गरिने ढुंगानाले बताए।
बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिनका लागि चलचित्र निर्माण गरेको र सफल पनि भएको उनको भनाई छ । बुद्धको जन्मस्थानबारे विभिन्न भ्रामक कुराहरु आइरहेको समयमा आफुहरुले बुद्ध नेपालमै जन्मेको सन्देश दिन चलचित्र निर्माण गरेको र आफू त्यसमा सफल भएको दाबी गर्दै अब खातुनको जीवनीमा आधारित बायोपिक चलचित्रले पनि दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको नायक ढुंगानाले बताए । उनले ‘बुद्ध वर्न इन नेपाल’ लाई स्थानीय तहसंगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए ।
साथै अर्को प्रसङ्गमा ढुंगानाले कोरोनाले थलिएको विश्व सिनेमा बजार क्रमश चलाएमान हुँदै जाने तर मेकरले चलचित्र भने स्तरीय बनाउनुपर्ने बताए ।
चलचित्र पत्रकार संघ दाङका सल्लाकार शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य भुपेश वलीले गरेका थिए ।