प्रदेशकै उत्कृष्ट आँखा अस्पताल बनाउनुपर्छ : डाँगी

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अम्मर डाँगीले राप्ती आँखा अस्पताललाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउनु पर्ने बताएका छन् ।

यस क्षेत्रका जनताहरुलाई सर्वसुलभ सेवा प्रदान गरेको आँखा अस्पतालको सेवा विस्तार भौतिक निर्माणका लागि सबै लाग्नुपर्ने बताए । राप्ती आँखा अस्पतालको अवलोकन तथा छलफलमा उनले अन्धोपन न्यूनीकरणमा यस अस्पतालले निकै ठुलो भूमिका खेलेको भन्दै प्रदेश सरकारले यसको विकासका लागि सहयोग गर्ने बताए ।

‘यो अस्पताल सवैको साझा संस्था हो, यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्छ’ डाँगीले भने । उनले अस्पतालको विकासका लागि प्रदेश सरकार तथा संघीय सरकारमा समेत आफुले सक्दो सहयोग गर्ने बताए । उनले अस्पतालले दिने सेवाहरु गुणस्तरी र सहज पाएको भन्दै खुसी समेत व्यक्त गरे ।

‘म पनि सेवाग्राही भएर सेवा लिए यहाँ दिने सेवा र यहाँका चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीले गर्ने व्यवहार मैले पारिवारिक पाए’ उनले भने । उनले सबै विशेषज्ञ सेवा अस्पतालबाट प्रर्दानका लागि आफुले सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिए । ‘मैले हाम्रो सरकारले के सहयोग गर्नुपर्छ गर्न तयार छौं योजना बनाउनुहोस् हामी अस्पतालको विकासका लागि तयार छौं’ उनले भने ।’ डाँगीले अब प्रदेशको स्वास्थ्य मन्त्रालय पनि दाङमा स्थापना भएको भन्दै आँखा अस्पतालको विकासका लागि साझेदारी र सहकार्यमा काम गर्न थप सहयोग मिल्ने बताए ।

सो अवसरमा अस्पतालका मेसु नेत्र विशेषज्ञ डाक्टर सन्तोष सुवेदी नेत्रविशेषज्ञ डाक्टर सुरेश रसाइलीले यहाँ उपलव्ध सेवाहरु र आवश्यक चिकित्सकीय औजारको विषयमा जानकारी गराएका थिए ।

त्यस्तै अस्पतालका प्रशासक किरण पौडेलले अस्पतालले हालसम्म दिएका सेवाहरु अस्पतालको भावि योजना र अस्पताल अन्तर्गत सञ्चालित उपचार केन्द्रको विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस