बिजौरी । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान माताहतको बिएएमएस कोर्षका ५ वटा व्याच पास आउट भैसकेका छन्, तर बाँकी ५ वटा व्याचको पढाइसँगै प्रयोगात्मक कक्षा अझै पनि नियमित हुन सकिरहेको छैन । पाँच वर्षे आयुर्वेद स्नातक तह उत्तीर्ण गर्न विद्यार्थीहरुलाई कम्तिमा ७ वर्षसम्म समय लागिरहेको अवस्थामा बेलझुण्डीमा सञ्चालित आयर्वेद केन्द्रीय विद्यापीठमा शिक्षण अस्पतालसँगै ओपिडि सेवा समेत अझै अनिश्चित बनेको छ ।
अघिल्ला दुई वर्ष कोरोनाको अस्थायी विशेष अस्पताल चलाउनका लागि ठप्प बनाइएको बिएएमएसको पढाइ जसोतसो सञ्चालनमा आए पनि शिक्षण अस्पतालमा ओपिडि तथा आइपिडि सञ्चालन नहुँदा विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षामा समस्या भएको विद्यार्थीहरुले बताएका छन् । यस अघि विभिन्न विधामा कम्तिमा ४ विशेषज्ञ सेवा सहितको ओपिडि र प्रयोगशाला समेत सञ्चालनमा आएको थियो । शिक्षण अस्पताललाई स्वीकृति दिलाउनका लागि करिब करिब एक सय वेडको ओपिडि समेत व्यवस्थापन हुन थालको थियो । तर कोरोना भाइरसको संक्रमणसँगै प्रदेश सरकारले दुई वर्षसम्म यो अस्पताललाई अस्थायी कोरोना अस्पताल बनाएपछि आयुर्वेद अध्ययन गर्ने विद्यार्थीहरुको ओपिडिसँगै प्रयोगशाला समेत बन्द प्रायः रहे ।
‘हामी एक दुई दिनमै ओपिडि चलाउने अन्तिम तयारीमा छौं, तर ओपिडि सेवासँगै सामान्य प्रयोगशाला परीक्षणका लागि प्राविधिक जनशक्तिको व्यवस्थापन हुन नसक्दा समस्या देखिएको छ’ आयुर्वेद केन्द्रीय विद्यापीठका प्राचार्य प्रा.डा. मंगलाकान्त झाले भने ।
सो क्याम्पसको प्रयोगशालामा काम गर्न नियुक्त भएका बिएमएलटी तहका प्राविधिकको सडक दुर्घटनामा निधन भयो । त्यसपछि प्रयोगशाला चलाउने कुनै प्राविधिकको व्यवस्थापन हुन सकेको छैन । ओपिडि र आइपिडि कक्ष सञ्चालनका लागि सामान्य प्रयोगशाला परीक्षण अपरिहार्य हुन्छ, तर विश्वविद्यालयले प्राविधिकको व्यवस्थापन गर्न सकेको छैन । विश्वविद्यालयका पदाधिकारीहरु यो विषयमा कत्ति पनि गम्भीर देखिएका छैनन् ।
‘हामीले बिएमएलटी सरहको प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि पटक पटक लिखित एवं मौखिक पत्राचार समेत पदाधिकारीहरुलाई गराइसकेका छौं, तर अझै पनि प्राविधिक व्यवस्थापनको टुंगो लाग्न सकेको छैन’, प्राचार्य झाले भने । श्रोतकाअनुसार बिएएमएस क्याम्पसमा प्रयोगशालाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने जिम्मा केन्द्रीय कार्यालयको हो । तर केन्द्रीय कार्यालयले यो विषयमा कुनै गम्भीरता देखाउन सकेको छैन । त्यसैगरी अस्पताल फार्मेसीमा पनि दरबन्दी व्यवस्थापन हुन सकेको छैन । प्रयोगशाला पनि नहुने र औषधी पसल पनि नहुने अवस्थामा ओपिडि सेवा सञ्चालनको परिकल्पना समेत गर्न नसकिने क्याम्पस प्रशासनको भनाइ रहेको छ ।
भर्खरै प्लस टुको नतिजा सार्वजनिक भैसकेको छ । अब चाँडै नै फेरी चिकित्सा शिक्षा आयोगको बेलझुण्डीमा पनि स्थलगत अनुगमन हुने छ । अबको एक महिनाभित्र हुने अनुगमनमा आयुर्वेद विद्यापीठले कम्तिमा पनि ४ वटा विशेषज्ञ सहितको ओपिडि सेवा र कम्तिमा एक सय वेडको आइपिडि सेवा सञ्चालन गरेको अवस्थामा मात्र विश्वविद्यालयलाई आयुर्वेद चिकित्सकामा बिएएमएस सञ्चालनका लागि शिक्षण अस्पतालको अनुमति हुन सक्छ, तर पछिल्लो यो अवस्थाले तत्काल ओपिडि सेवा समेत सञ्चालन हुने देखिंदैन । एक दुई दर्जन दैनिक बिरामी नआएको अवस्थामा ओपिडि सञ्चालनको कुनै अर्थ रहँदैन ।
कोरोना अस्थायी अस्पतालका नाममा दुई दुई वर्षसम्म यस क्याम्पसमा सञ्चालन भैरहँदा विश्वविद्यालयले केही पाउनुको साटो धेरै संरचनाहरु तोडफोड समेत भएका छन् । यो अस्पताललाई एकीकृत विशेष सरुवा रोग अस्पताल बनाउने तात्कालीन प्रदेश सरकारका मुख्यमन्त्रीले आश्वासन बाँडे । तर कोरोना अस्पताल तुलसीपुर सारिरहँदा बेलझुण्डीले प्रदेश सरकारबाट कुनै सहयोग पाउन सकेन । प्रदेश स्तरीय सरुवा रोग अस्पताल बनाउने भन्दै विश्वविद्यालयलाई झुठो आश्वासन दिइरहेको प्रदेश सरकारले अन्ततः प्रदेश स्तरीय विशेष सरुवा रोग अस्पताल कपिलबस्तुमा बनाउने निर्णय गर्दै बजेट समेत विनियोजन गरेको छ । तर बेलझुण्डीलाई केही सहयोग प्रदेश सरकारबाट हुन सकेन ।
४० कोटामा १२ विद्यार्थी
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा एक वर्षमा ४० जनाले बिएएमएस अध्ययन गर्न सक्ने गरी पूर्वाधार निर्माण भएको छ । त्यत्तिकै कोटाको स्वीकृति समेत पाएको छ । तर यो शैक्षिक सत्रमा बेलझुण्डी विश्वविद्यालय माताहतको यो क्याम्पसमा जम्मा १२ जना विद्यार्थीहरु मात्र भर्ना हुन पाएका छन् । ती सबै विद्यार्थीहरु पूर्ण छात्रवृत्तिका हुन् । जसका कारण आयुर्वेद क्याम्पसको आर्थिक श्रोत पनि भारी मात्रामा घटेको छ ।
यसअघि नेपाल संस्कृत विश्वविद्यालयले नै आयुर्वेद चिकित्सा क्षेत्र स्नातक तह(बिएएमएस) तहको प्रवेश परीक्षाको जाँच नेपाल संस्कृत विश्वविद्यालयले नै ल्याउने गरेको थियो । विश्वविद्यालयले जाँच लिँदा आवश्यक कोटा संख्या बमोजिम उत्तीर्ण गराउने गरिएको थियो । यसमा सःशुल्क र छात्रवृत्ति दुवैका विद्यार्थी भर्ना हुन्थे । तर यो वर्षदेखि चिकित्सा शिक्षा सेवा आयोगले परीक्षा लिंदा थोरै मात्र विद्यार्थीहरु प्रवेश परीक्षामा उत्तीर्ण भए । यही कारण जम्मा १२ जना विद्यार्थीहरु मात्रै क्याम्पस भर्ना हुन पाएका छन् । ‘हामी यति मात्रै विद्यार्थीलाई पढादा आर्थिक रुपले पनि शसक्त हुने छैनौं, आशा छ, चिकित्सा सेवा आयोगले अरु विद्यार्थीहरु पनि पठाउने छ भन्नेमा आशावादी छौं’ क्याम्पसका प्राचार्य झाले भने । तर आयोगले फेरी विद्यार्थी पठाउला नपठाउला केही भन्न सकिने अवस्था छैन ।
यसअघि यस क्याम्पसमा प्रति वर्ष करीव ४० जना विद्यार्थीहरु भर्ना हुंदै आएका थिए । हाल नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद क्याम्पसमा ५ वटा व्याचका गरी करिब पौने २ सय विद्यार्थीहरु विभिन्न सेमेस्टरमा अध्ययन गरिरहेका छन् । चिकित्सा शिक्षा सेवा आयोगले आयुर्वेद क्याम्पस सञ्चालनका लागि ५१ जना विशेषज्ञ चिकित्सकको दरबन्दी निर्धारण गरे पनि नेपाल संस्कृत विश्वविद्यालय माताहतको यो क्याम्पसमा भने जम्मा १५ जना विशेषज्ञ चिकित्सकहरुको पदपूर्ति भएको सो क्याम्पसले जनाएको छ । त्यसमा पनि अधिकांश अस्थायी र करारमा रहेका छन् ।
साक्षी खबरबाट