मावि तुलसीपुर सेन्टरको ५५औँ वार्षिकोत्सव सम्पन्न

तुलसीपुर :  दाङको तुलसीपुर-६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको मंगलबार ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले शिक्षा नै समाज परिवर्तनको आधार भएको भन्दै स्थानीय तहले सामुदायिक विद्यालय सुदृढीकरणका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्राविधिक तथा व्यवहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा तुलसीपुर सेन्टर माध्यमिक विद्यालयको भूमिका प्रशंसनीय रहेको बताए । २०२७ सालमा स्थापना भएको विद्यालयले विगत पाँच दशकभन्दा बढी समयदेखि दाङसहित रोल्पा, रुकुम र सल्यानका विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अवस्था सार्वजनिक गरेका थिए । हाल विद्यालयमा साधारण, प्राविधिक तथा उच्च माध्यमिक तहमा गरी २ हजार ५ सय ८८ विद्यार्थी अध्ययनरत छन् ।

साधारण धारतर्फ शिशु कक्षादेखि कक्षा १० सम्म (नेपाली तथा अंग्रेजी माध्यम) अध्ययन हुँदै आएको छ भने प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियरिङ, सूचना प्रविधि, जियोमेटिक्स तथा व्यवस्थापन, विज्ञान र शिक्षा संकाय सञ्चालनमा छन् ।विद्यालयमा हाल ९६ जना शिक्षक–कर्मचारी कार्यरत छन्, जसमा सरकारी, निजी स्रोत तथा आंशिक शिक्षक समावेश छन् । शैक्षिक उपलब्धिका आधारमा विद्यालयको औसत जिपिए २.८४ रहेको छ । २०८१ सालको एसईई परीक्षामा २५४ मध्ये २२४ विद्यार्थी उत्तीर्ण भएका थिए भने कक्षा १२ मा १७७ मध्ये १४१ विद्यार्थी उत्तीर्ण भएका छन् । डिप्लोमा तहमा समेत विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ ।

विद्यालयले २०८१ सालको राष्ट्रिय शिक्षा दिवसका अवसरमा देशकै सर्वोत्कृष्ट प्रथम पुरस्कार प्राप्त गरेको थियो । यद्यपि, पूर्वाधारको अभाव, खानेपानीको दिगो स्रोतको कमी तथा शिक्षक दरबन्दीको समस्या विद्यालयका मुख्य चुनौतीका रूपमा रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस