खानेपानीको क्षमता बढाउँदै बेलझुण्डी

बेलझुण्डी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६,१७,१८ र१९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले क्षमता बढाउने भएको छ ।

संस्थाले मुहानमा पानी पर्याप्त भएको र भण्डारण गर्ने क्षमता कम भएका कारण २४ सै घण्टा पानी वितरण गर्नका लागि पानी ट्याङ्की र पाइप लाइन विस्तारसमेत गर्ने भएको छ ।संस्थाले मङ्गलबार उपभोक्ता, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधिहरुबीच छलफल कार्यक्रम आयोजना राखेर नयाँ पानी ट्याङ्की निर्माण, सौन्दर्य पार्क निर्माणका विषयमा साधारण सभाबाट पास गरिने भएको छ ।

संस्थाका अध्यक्ष प्रदीप गौतमले खानेपानी संस्था सेवामुलक संस्था भएकाले थप संरचना निर्माणका लागि तीनै तहका सरकारले बजेट सुनिश्चिता गर्नुपर्ने बताउनुभयो । उहाँले मुहानको पानी पर्याप्त रहेको तर संरचना अभावकै कारण २४ सै घण्टा उपभोक्तालाई वितरण गर्न कठिनाई भएको बताउनुभयो । उहाँले आर्थिकरूपमा विपन्न रहेका उपभोक्ताहरुलाई धारा किस्तामा वितरण गर्ने र ऐलानी जग्गामा बसोबास गर्ने उपभोक्तालाई समेत वडाको सिफारिसका आधारमा धारा वितरण गर्ने बताउनुभयो ।
अध्यक्ष गौतमले धाराका लागि २४ सै घण्टा निवेदन खुल्ला रहेको र स्वीकृत भएको २४ घण्टाभित्रै धारा जडान गरिने बताउनुभयो ।संस्थाले हालसम्म दुई हजार एक सय धारा वितरण गरेको र अझै १७ सय धारा वितरण गर्ने सामथ्र्य रहेको संस्थाका सचिव मुकेश वलीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले खानेपानी संस्था नाफामुलक नभई सेवामुलक भएकाले तीनै तहका सरकारले नाफा र सेवामुलक संस्थाकाबीचमा फरक छुट्याएर सोहीअनुरुप बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीले खानेपानीको क्षेत्र विस्तारका साथै क्षमता विस्तारमासमेत ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पाटीका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कमिटीका सभापति ज्ञानेन्द्र पोख्रेलले खानेपानीलाई संविधानमै मौलिक हककैरुपमा राखेकाले सरकारले निशुल्करुपमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपाली काग्रेस वडा नम्बर १८ वडा कमिटीका सचिव विदुर गौतमले उपभोक्ताहरुलाई खानेपानी वितरण प्रभावकारी रहेको बताउनुभयो । जुरपनिया मैनतारा खानेपानी समितिका सचिव राकेश बस्नेतले खानेपानी संस्थाहरु मर्जको नीतिलाई कार्यान्वयनमा ल्याउन सके सबै उपभोक्ताहरुलाई समानरुपमा पानी वितरण गर्न सकिने बताउनुभयो ।

नेपाल रेडक्रस बिजौरी शाखाका सभापति बालकृष्ण रेग्मीले खानेपानी संस्थाले स्वच्छ पानी वितरणका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।नेपाल कम्युनिष्ट पाटीका रामबहादुर थापाले सरकारले उपभोक्ताहरुलाई निशुल्करुपमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
जनता संस्कृत मावि विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण केसीले संस्थाले खानेपानी वितरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा भुल्के सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले विपन्न नागरिकलाई निशुल्करुपमा धारा वितरण गर्नुपर्ने बताउनुभयो ।

यसैबीच संस्थाले मंगलबारदेखि नै कार्यालयमा पानी परीक्षण सुरु गरेको छ ।
खानेपानी सुरक्षा समितिका सदस्य सचिव गोकर्ण पौडेलले उपभोक्ताहरुलाई स्वच्छ पानी धारासम्म पु¥याउनका लागि पानी परीक्षण सुरु गरिएको बताउनुभयो । उहाँले अब नियमितरुपमा पानी परीक्षण गरिने र त्यसका लागि जनशक्ति र आवश्यक सामग्रीकोसमेत व्यवस्थापन भइसकेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मुकेश वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस