ओझेलमा परेको ऐतिहासिक गोरखा दरबार

प्रकृति र सौन्दर्यताले रोजेको, संस्कृति र परम्पराहरू बोकेको र पर्यटकहरूले खोजेको देश हो नेपाल । जहाँ सम्पदाहरू भरिएका छन् हिमाल पहाड ताल पोखरी र झरनाहरू छरिएका छन् । आकर्षक मनमोहक दृश्यहरू र अतिथिहरूलाई गरिने माया प्रेम र सद्भाव यहाँ आउने हरेक पर्यटकहरूलाई फर्केर जान भुलाई दिन्छ । चाहे त्यो सगरमाथाको पदयात्री होस् या लुम्बिनी भ्रमणको सहयात्री चाहे पाथीभराको दर्शन होस् या मुक्तिनाथको वर्णन चाहे चितवनको जङ्गल सफारी होस् या रारा तालको यात्री चाहे गोरखाको दरबार होस् या चिटिक्क परेका घरबार यस्तै यस्तै आकर्षणले नेपालमा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।

पर्यटकीय सम्भावनै सम्भावना बोकेको देश हो नेपाल । तर पनि यस्तो अवसरलाई राम्रोसँग उपयोग गर्न नसक्दा विकासका सम्भावनामा पछाडि परेका छन् । कहिले राजनैतिक द्वन्द्व, हत्या हिंसा कहिले प्राकृतिक विपत्ति र कहिले शान्ति सुरक्षाको अभावले पर्यटकलाई प्रभाव पारेको देखिन्छ । त्यस्तै भौगोलिक विकटता, भौतिक पूर्वाधारको अभाव र गन्तव्यसम्म सहज आवत् जावत तथा बसोबासको व्यवस्था समेत पर्यटक प्रवाहको अवरोधको रूपमा रहेका छन् । लोकतन्त्र स्थापनको छोटो अवधिमै विश्वका कतिपय देशले आर्थिक प्रगति हासिल गरेका प्रशस्तै उदाहरण छन् तर हाम्रो देशमा प्रजातन्त्र पुनस्र्थापनाको ३२ पुग्न लाग्दा विकासका बाटाहरू देखिए पनि गति लिन सकेका छैनन् । जसको प्रमुख कारण राजनैतिक अस्थिरतालाई मान्न सकिन्छ ।

म आफू पनि ज्यादै घुम्न रुचाउने हुँदा युरोपका केही सहर तथा अमेरिका धेरै सहर घुम्ने अवसर पाएको छु । नेपालमा पनि समय र अनुकूलता मिले विभिन्न स्थान घुम्ने गर्दछु । पर्यटकको लागि नेपालका आकर्षक स्थानहरूमा काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन आदि पर्दछन् । त्यस्तै अहिले नेपालमा आन्तरिक पर्यटकको राम्रो सम्भावना बढदै गइरहेको छ । विशेषगरी धार्मिक सांस्कृतिक ऐतिहासिक सम्पदाहरूको अवलोकन तथा नदीनाला, हिमाल, ताल, पोखरीहरूको दृश्यावलोकन महत्वपूर्ण मानिन्छन् । यसै सन्दर्भमा नेपालको इतिहासमा महत्वपूर्ण स्थान रहेको गोरखा दरबारको अवलोकन गर्ने अवसर मिलेको थियो जहाँ मैले देखेको र आफूले अनुभूति गरेको बारे छोटो जानकारी गराउन चाहन्छु ।

गोरखा नेपालको पहाडी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो । यो हालको संरचनाअनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला हो । भौगोलिकरूपमा मध्य पहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो । यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ । समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित रहेको छ । भौगोलिकरूपमा भिरालो जमिन सुन्दर हरियाली डाँडा काँडा रहेको गोरखा जिल्लामा गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा रहेका छन् । त्यसैगरी मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा छन् भने कल्छुमन ताल, कालाताल नारदकुण्ड, दूध पोखरी जस्ता ताल र पोखरीहरू पनि गोरखामा रहेका छन् । विभिन्न सुन्दर हिम श्रृङ्खलाहरु, कोटहरू, गुम्बाहरू तथा गुफाहरू गोरखाका धरोहर हुन् भने मनासलु, धौलागिरी तथा गणेश हिमालको मनमोहक दृश्य देखिने यहाँको सौन्दर्य हो । फलफूल खेती, पशुपालन तथा औषधि जन्य जडीबुटीको लागि उपयुक्त भौगोलिक बनावट रहेको गोरखा जिल्लामा उत्पादन हुने सुन्तला विशेषगरी मनोकामना क्षेत्रको नेपालमा प्रसिद्ध मानिन्छ ।

गोरखा जिल्ला नेपालको एकीकरण गरेर सिङ्गो नेपाल राज्य स्थापना गर्ने शाह वंशीय राजा पृथ्वी नारायण शाहको जन्म स्थल पनि हो । यहाँ रहेको गोरखा दरबार आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि जिल्लाकै आकर्षक गन्तव्य मानिन्छ । गोरखा बजारदेखि करिब तीन किमी माथि उत्तर पूर्व टाकुरामा अवस्थित गोरखा दरवारको फेदसम्म पुग्न बजारको मुख्य सडकबाट गोरखा दरबार संग्रालय हुँदै केही साँघुरो बाटो छिचोल्दै गाडीबाट सहजै पुग्न सकिन्छ र त्यहाँबाट केही सिंडीहरू चढी माथि दरबारमै पुग्न सकिन्छ । सामरिक दृष्टिकोणले ज्यादै सुरक्षित स्थानमा किल्लाले घेरेर बनाइएको दरबार कलात्मक समेत रहेको छ ।

राष्ट्रकै गौरव गर्ने स्थान नेपालको इतिहासको धरोहर गोरखा दरबारको अवलोकन गर्ने सानैदेखि चाहना भए पनि त्यसले मूर्तरूप लिन सकेको थिएन । यस पटक आकस्मिक रूपमा छोटो समयको लागि हामी त्यहाँ पुगेका थियौ र मुख्य उद्देश्य नै गोरखा दरबारको अवलोकन नै थियो । हामी यही मङ्सिर महिनाको १० गते गोरखा बजार पुगेका थियौ । भोलिपल्ट बिहानै हामी उत्साहित हुँदै दरबार हेर्न पुग्यौ । २०७२ सालको भूकम्पले दरबारको क्षति भएको त सुनेको थिए तर करिब ५ वर्ष बितिसक्दा पुनः निर्माण सम्पन्न भई दरबार तथा त्यस क्षेत्र सुन्दर तथा पर्यटकको लागि आकर्षक भएको अनुमान गरेको थिए तर यत्रतत्र छरिएका निर्माण सामाग्री तथा अव्यवस्थित आवत जावत तथा दरबार व्यवस्थापनको अभावको महसुस भयो । सायद हामी गएको दिन शनिबार भएकोले होला भिडभाड निकै थियो । दरबार अवलोकनभन्दा गोरखनाथ मन्दिर तथा गोरखकाली मन्दिरका दर्शनार्थी बढी देखिन्थे । हामी पनि एउटा धेरै पुरानो उत्साह मेट्दै मन्दिर तथा दरबारको अवलोकन पश्चात् आकर्षक सुन्दर दृश्यहरू तस्बिरमा कैद गरी दरबार परिसर छोडेका थियौ ।

त्यसपछि हामी त्यहाँबाट करिब २ किमी टाढा नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको जन्म स्थान सुनडाँडा नजिक रहेको पिपल थोक, फिनाम स्थित भिमलेन थापा पार्क पुगेका थियौ । भर्खरै निर्माण सम्पन्न उक्त पार्क पहाडको टाकुरोमा रहेको छ जहाँबाट गोरखा जिल्लाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वास्तवमा हाम्रो देशमा पर्यटकहरूको लागि प्रशस्तै आकर्षक गन्तव्यहरू रहेका छन् । चाहे ऐतिहासिक होउन् वा धार्मिक सांस्कृतिक वा सुन्दर मनोरम दृश्य वा साहसिक खेलका स्थानहरू ती सबै गन्तव्यहरू उचित व्यवस्थापनको अभावमा उपयोग गर्न सकिरहेका छैनौ । गतिलो आयस्रोत हुन सक्ने स्थानहरू प्रयोग भैरहेका छैनन् । करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका पुरातात्विक धरोहरहरूलाई संरक्षण गर्दै अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ । मुख्य राजमार्गदेखि दरबार संग्रालय तथा सोभन्दा केही माथिसम्म बाटो ज्यादै साँघुरो रहेकोले त्यसलाई विस्तार गर्नु पर्ने देखिन्छ । त्यसैगरी गोरखा बजारको मूलबाटोदेखि दरबारको फेदसम्म दरबार जाने बाटो र दुरी अङ्कित चिन्हहरू राख्नु पर्ने देखिन्छ । त्यसैगरी गाडी पुग्न सक्ने दरबारको फेद (जहाँ गाडीहरूको पार्किङ गरिन्छ)देखि माथि दरबारसम्म पुग्ने सशुल्क एलिभेट्रको व्यवस्था समेत गर्न सकिन्छ । त्यसैगरी दरबार परिसरमा रहेका पुरातात्विक धरोहरहरूको संरक्षण गर्दै सफा सुन्दर मौलिक कलात्मक स्वरूपमा निर्माण गरी प्रवेश शुल्क राखी त्यहाँको इतिहास जानेका गाइडहरूको व्यवस्था गरे ऐतिहासिक धरोहरहरूको ज्ञान हुने र अवलोकनको औचित्य पनि पुष्टि हुने देखिन्छ । त्यसैगरी उच्च स्थानमा रहेको दरबार परिसरबाट टाढा टाढाका दृश्यहरू देखिने हुँदा ठाउँ ठाउँमा सशुल्क शक्तिशाली दूर दृश्य यन्त्र (वाइनाकुलर) राखेमा आय वृद्धि पनि हुने र पर्यटकहरूको लागि मनोरञ्जन पनि हुने देखिन्छ ।

यथार्थमा हामी हाम्रा आम्दानीका श्रोतहरूलाई उपयोग नगरी एक जना विद्वान्ले भने झैँ सुनको कचौरामा भिक मागीरहेका छौ । हामीले गर्नु पर्ने हाम्रा धरोहरहरूको संरक्षण त्यहाँसम्म पहुँचको लागि पूर्वाधारको विकास र उचित व्यवस्थापन नै थियो तर हामी लामो समयदेखि यस्ता धरोहरहरूको नक्सांकन, गुरुयोजना र प्रशासनिक काममै अलमलिएका छौ । देश विदेशमा देखेका अनुभव गरेका कामहरू पनि सहज रूपमा गर्न सकिरहेका छैनौ । एक वर्षमा सम्पन्न हुने कार्य पाँच वर्षमा समेत सम्पन्न गरिरहेका छैनौ । योजना तथा कार्यक्रमहरू देखाउने र राजनैतिक स्वार्थ भजाउनेमा मात्र सीमित छन् । गोरखा क्षेत्र तथा देशकै प्रगतिको लागि गोरखा दरबारको संरक्षण प्रवर्द्धनप्रति सरोकारवालाहरूको ध्यान पुगोस् यही मेरो कामना छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस