
काठमाडौं । चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत ४ गते रिलिज हुनेछ ।
निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथा चलचित्रमा समावेश छ । चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई देखाउन खोेजेको बताए । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको चलचित्र हो ।
‘चिसो एस्ट्रे’मा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् । यस्तै, पर्दामा उनलाई निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठले साथ दिएका छन् ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।
चलचित्रमा दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् ।