प्रकाश सपूतको डेब्युमा चलचित्र ‘परदेशी २’ अर्को दशैंमा

काठमाडौं । २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ चलचित्र ‘परदेशी–२’ को छायाँकन शुरु गरिएको थियो । तर, कोरोना महामारी फैलिएपछि चलचित्र छायाँकनकै क्रममा रोकिन पुग्यो ।

कोरोनाको पहिलो लहर सकिएपछि बाँकी छायाँकन पूरा गरियो । र, २०७८ सालको दशैंलाई प्रदर्शन मिति तोकियो । फेरि कोरोनाको दोस्रो लहरमा निषेधाज्ञा लागू भएपछि यस वर्षको दशैंमा पनि यो चलचित्र प्रदर्शनमा आउन सकेन ।

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा राजेश वंशल र नारायण रायमाझी छन् ।

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । गायक तथा मोडल प्रकाशको यो डेब्यु चलचित्र हो ।

प्रकाशको डेब्यु र त्यसमाथि सुपरहिट चलचित्र ‘परदेशी’को सिरिज भएका कारण यो चलचित्रलाई प्रतीक्षित मानिएको छ । तर, ‘परदेशी २’ चलचित्र हालसालै भने प्रदर्शनमा नआउने भएको छ ।

उसो भए कहिले प्रदर्शनमा आउँछ चलचित्र रु निर्देशक नारायण रायमाझीले अनलाइनखबरसँग भने, ‘चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको छ । त्यसैले आउँदो दशैंमा नै प्रदर्शन गर्ने सोच बनाएका छौं । अब केही दिनमा प्रदर्शन मितिबारे आधिकारिक घोषणा गर्नेछौं ।’

निर्माता राजेश वंशलले दशैंको परिवेशसँग जोडिएको कथा भएकाले शुरुदेखि नै दशैंका लागि तयारी गरेकोमा यस वर्ष प्रदर्शन हुन पाएन । अब अर्को वर्ष दशैंमा नै हुने बताए । चलचित्रको अधिकांश काम सकिएको निर्माण टिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस