
काठमाडौं । चलचित्र ‘गुञ्जन’को निर्माण युनिट दुबई पुगेको छ । चलचित्रमा समावेश ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीतको भिडियो छायांकनका लागि निर्माण टिम दुबई पुगेको हो ।
चलचित्रका निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जनको साथमा मुख्य कलाकारहरु प्रितमराज सेन्चुरी र नायिका सारा सिर्पाली दुबई पुगेका हुन् ।
दुबईमा छायांकन भइरहेको गीतमा सारा र प्रितम रोमान्टिक देखिएका छन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने विदुर पाण्डे यसका छायाँकार हुन् ।
लकडाउन अगाडि नै छायांकन भएपनि यो चलचित्र रिलिज हुन पाएको छैन । दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा सक्रिय अष्टको यो डेब्यु निर्देशन हो ।
प्रेमकथामा निर्माण भएको यो चलचित्रमा सारा र प्रितमराजका साथै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही लगायतका कलाकारको अभिनय छ ।
राजु श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रको काठमाडौं, पोखरा र जोमसोममा छायाँकन गरिएको छ ।