
तुलसीपुर । कम्तिमा अढाइ दशक उनको जीवनको आँखाको ज्योती खोज्दै बित्यो, मुलुकमा अन्धोपन निवारणमा उनी करिव २५ बर्ष अनवरत रुपमा लागिरहे । दृष्टिविहिन र दृष्टि गुमाएकाहरुलाई आँखा उपचार एवं पुर्नस्थापनमा यति लामो समय बिताइरहेका तुलसीपुर उपमहानगरपालिका—४ निवासी कृष्ण कुमार गिरी कांग्रेसको चौधौं महाधिवशेनमा आएर सक्रिय राजनीतिमा जोडिने प्रयत्नमा छन् । त्यसैले उनले यो महाधिवेशनमा दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
नेपाल नेत्र न्योति संघ दाङको सभापति एवं नेत्रज्योति संघको केन्द्रीय सभापति समेत रहेका गिरीको प्राय सक्रिय जीवन राप्ती क्षेत्र मात्र नभएर अहिले कर्णालीमा नेत्रज्योती फैलाउनका लागि क्रियाशील छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समेत साझेदारीमा रहेर राप्ती आँखा अस्पतालको सेवालाई मुलुकभर फैलाउने अभ्यासमा रहेका गिरी सामाजिक संघसंस्थामा करिव २५ बर्षसम्म अनवरत क्रियाशील रहे । यहि सामाजिक सेवामा जोडिएकै कारण उनी यो बर्ष राष्ट्रपतिबाट जनसेवाश्रीबाट विभूषित पनि भए ।
त्यसो त उनको जीवनको पूर्वाध भने नेपाली कांग्रेसको राजनीतिसँग जोडिएको थियो । देशमा आमुल परिवर्तनका लागि महामानव विपि कोइरालाको आह्वानमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कृष्ण कुमार गिरी यही अभियोगमा वि.सं २०२९ सालमा सल्यान कारागारमा बन्दी पनि बनाइए । अनि वि.सं २०३५ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय पनि भए । महामानव विश्वेश्वरप्रसाद कोइरालालाई तुलसीपुरमा ल्याउन तथा आफ्नै रक्षाचौरको घरमा आतिथ्यता गर्ने अवसर समेत पाएका गिरी त्यसपछि वि.सं २०४६ सालको जनआन्दोलनदेखि वि.सं २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनमा पनि सक्रिय रुपमा क्रियाशील भए ।
मुलुकमा प्रजातन्त्र ल्याउन यति सक्रिय भूमिका निर्वाह गरे पनि वि.सं २०४६ सालदेखि उनले नेपाली कांग्रेसबाट कुनै पदीय लाभ लिएनन् । निरन्तर लागीरहे । वि.सं २०२८ सालमा भारतको वनारसमा अध्ययन गर्न पुगेका गिरीको सम्पर्क महामानव विपिसँग भए पनि उनी मुलुकमा आमुल परिवर्तनको हरेक आन्दोलनमा जोडिए । ‘वनारसकै एउटा कोठाको पटांगिमा बसेर विपिका कुरा सुनिरहन्थ्यौं, त्यहि बेलादेखि म नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जोडिएको हुँ’, गिरीले भने । विपिको चाँडै स्वर्गबास हुनुनै आफ्नो दुर्भाग्य भएको स्मरण गर्ने गिरीले यति लामो जीवनसम्म पनि कांग्रेसको कुनै लाभको पदमा बसेनन् । अहिले आएर उनी महाधिवेशन प्रतिनिधि बनेर पार्टीको नीति निर्माणमा समेत भूमिका निर्वाह गर्ने अभियानमा छन् ।
‘मैले पार्टीभित्र मत माग्नु परेको सम्भवतः यो पहिलो पटक हो, मलाई विश्वास छ गेहेन्द्र गिरी, महादेव शाह, दिपक गिरी, केशव आचार्य, शंकर गिरीलगायत सबैले आफ्नो मत दिनुहुने छ’—गिरीले आग्रह गरे । विपिको निर्देशनमै वि.सं २०२९ सालमा नेपाल फर्केका गिरी तात्कालीन रानी ऐश्वर्यको जन्मदिनकै अवसरमा कांग्रेसको संगठन विस्तार अभियानमा जुटेका थिए । जुनबेला सिंहदरबारमा आगजनी लगायत प्लेन हाइज्याक गरी पैसा कव्जा गर्ने समेतको अभियान कांग्रेसले सम्पन्न गरेको थियो । त्यही सेरोफेरोमा उनी कांग्रेसमा लागेको सुराकीका आधारमा पक्राउ परे । जुनबेला तुलसीपुरमा भएको संगठन विस्तारको माइन्युट बोकेर बनारस लगिएको थियो । उनी जेलमा रहँदा वलदेव मज्गैया र मोहन बैद्ध सँगसँगै बसेका थिए ।
‘यो मेरो पहिलो राजनीतिक रेश हो, मलाई सबै क्षेत्रीय प्रतिनिधिहरुले अमुल्य मत दिएर सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु’—गिरीले अपिल गरे । पार्टीलाई गुठ रहित र एक ढिक्का बनाउने पनि उनको विश्वास छ ।