‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’

काठमाडौं । ‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल ‘मेरी बास्सै’मा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् ।

मंगलबार प्रसारण ‘मेरी बास्सै’को भाग ७२९ मा दर्शकले पल्पसालाई हेर्न पाएका छन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि आफू ‘मेरी बास्सै’मा फर्किएको पल्पसाले बताइन् । उनले लामो समयपछि छायाँकन सेटमा पुग्दा आफ्ना आँखा रसाएको सुनाइन् ।

पल्पसाले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी छ । माघको तेस्रो साता मिर्गौला प्रत्यारोपण हुने सम्भावना रहेको बताउँदै त्यतिञ्जेल दर्शकले ‘मेरी बास्सै’मा आफूलाई नियमित हेर्न पाउने उनले बताइन् ।

परिवारकै एक जना सदस्यले उनलाई मिर्गौला दिनेछन् । त्यसका लागि सरकारी प्रक्रिया पूरा गर्ने क्रममा रहेको पल्पसाले जानकारी दिइन् । गत जेठमा श्वासप्रश्वासमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चेकजाँचका क्रममा उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण मिर्गौला फेर्नुपर्ने चिकित्सकले बताएका थिए ।

अस्पतालमा झण्डै ३ महिना बिताएपछि स्वास्थ्यमा सुधार भएपछि उनी गत भदौमा डिस्चार्ज भएकी थिइन् । हास्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ उपनामले चिन्दै आएका छन् । थुप्रै टेलिसिरियल, चलचित्र एवं म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस