आज विप्लव नेकपाको बन्द : बाक्लोमात्रामा प्रहरी परिचालन


दाङ –
इन्धनको मूल्य वृद्धिको विरोधमा विप्लव नेकपाले गरेको बन्दका कारण आज दाङसहित देशभरको जनजीवन ठप्प भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् भने उद्योग, कलकारखाना, व्यापार व्यवसाय, शैक्षिक संस्था ठप्प छन् ।

दाङका मूख्य बजार तुलसीपुर, बिजौरी, घोराही, लमही, भालुवाङ, पश्चिम हापुरे बिहानैदेखि सुनसान छन् । बन्दमा अत्यावश्यकबाहेकका अन्य सवारी साधन संचालन नहुँदा गन्तव्यमा हिडेका यात्रु बिचबाटोमै अलपत्र परेका छन् ।

दाङबाट बाहिरिने र दाङ भित्रने सवारी साधन ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दमा उच्छृङखल गतिविधि हुन सक्ने भन्दै बाक्लोमात्रामा प्रहरी परिचालन गरिएको छ । दाङका विभिन्न स्थानमा बाक्लोमात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अहिलेसम्म कुनै गतिविधि हुन नपाएको उहाँको दावि छ । यसैबिच बन्द बेलुका पाँचबजेपछिमात्रै खुल्ने विप्लव नेकपा दाङका इन्चार्ज बलबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर आयल निगमको कार्यलयमा आज कालो ब्यानर राखेर विरोध प्रदर्शन गरिने छ ।

निगमले १२ दिनको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वत्र विरोध भइरहेको छ । निगमले गत २४ गते राती देखि लागु हुनेगरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन-तीन रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस