नेपाली चलचित्रका लागि निर्माताहरु सिक्किमप्रति निकै आकर्षित छन् । सिक्किममा चलचित्र छायांकन गर्दा त्यहाँको सरकारले १ करोड भारु लगानी गर्ने बताएसँगै सिक्किममा नेपाली निर्माताहरुको आकर्षण बढेको हो ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’को टिम पनि चलचित्रको छायांकनका लागि सिक्किम पुगेको छ । यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी दिएकी छन् । चलचित्रको ६० प्रतिशत दृश्यको छायांकन सिक्किममै हुनेछ ।
चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका छ ।
त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको बाबरी’ अदितीका लागि महत्वकांक्षी मानिएको छ । उनको होम प्रोडक्सनमै निर्माण भइरहेको चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।