बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ ।

७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजाय सुनाइएको हो ।

सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत दोस्रो खातामा सारेको आरोप छ । यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथाम सम्बन्धी कानूनअनुसार दण्डनीय मानिन्छ ।

भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले चार वर्ष अघि विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले बंगलादेशको अलोकतान्त्रिक’ र ‘निरंकुश’ शासनको विरोध गरेकाले आफूलाई राजीनामा दिन बाध्य पारिएको दाबी गर्दै आएका छन् ।

सिन्हा हाल अमेरिकामा बस्दै आएका छन् । उनको अनुपस्थितिमा अदालतले जेल सजाय सुनाएको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस