
तुलसीपुर । नेपाली कांग्रेसका नेता तथा वर्तमान क्षेत्रीय प्रतिनिधि रामकुमार डाँगीले नेपाली कांग्रेसको आसन्न प्रदेश अधिवेशनमा निर्वाचन क्षेत्र नंवर २(ख)को प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार दुधरासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेस तुलसीपुर वडा सभापति वीरेन्द्र खड्का सहित क्षेत्रीय प्रतिनिधहरुबीच डाँगीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
वि. सं २०२६ सालमा निमावि तेघ्राबाट नेविसंघबाट सक्रिय राजनीतिमा जोडिएका डाँगी निरन्तर नेपाली कांग्रेसको आदर्श र सिद्धान्तमा रहि हाल सो पदमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसलाई आम जनता अटाउने एकतावद्ध पार्टी निर्माणको अभियान स्वरुप आफुले यो पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।
नेता डाँगी एघारौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि र १२औं तथा १३औं महाधिवेशनमा क्षेत्रीय सल्लाहकार तथा यो महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयन भएका थिए । डाँगी स्थानीय स्तरमा जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेका छन् ।
साथै कात्तिके रानीवन उपभोक्ता समितिको सल्लाहकार, दुधरासस्थित विश्वनाथधाम मन्दिरको सचिव, डाँगीबन्धु ट्रष्टको केन्द्रीय सदस्य, मावि दुधरासको विद्यालय व्यवस्थापन समितिको पूर्व सदस्य, विभिन्न सहकारी संघसंस्थाहरुमा सदस्य तथा सल्लाहकार लगायत विभिन्न संघसंस्थामा जोडिएका छन् ।