संविधान खारेज गर्न खोज्ने शक्ति परास्त भए : महरा


दाङ –
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले संविधान कसैकसैलाई टाउको दुखाई भएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महराले देशी-विदेशी प्रतिक्रियावादीबाट देश र नेपालको संविधानलाई जोगाउनुपर्ने र त्यसमा मिडियाले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

अधिवेशनमा बोल्दै उहाँले भारतलाई संकेत गर्दै नेपाल अमरसिंह र भिमसेन थापाहरूले जोगाएको देश भएको बताउनुभयो । देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको उल्लेख गर्दै उहाँले संविधान विरोधि देशी विदेशी सबैखाले प्रतिक्रियावादी शक्तिसँग लड्ने क्रममा मिडिया देश र जनताको पक्षमा उभिनुपर्ने कुरामा जोड दिनुभयो ।

‘कुनै पनि देशमा विदेशी हस्तक्षेप बढ्दा सबै मिडिया एक हुन्छन्, मलाई विश्वास छ नेपाली सञ्चार जगत पनि त्यो बाटोमा जानेछ’ उहाँले भन्नुभयो । ‘विदेशी शक्तिको ईसारामा नेपालको संविधान खारेज गर्न खोज्ने शक्तिलाई परास्त गर्न पाँच दलीय गठबन्धन बनेको छ ।’

त्यस्तै उहाँले अहिलेको गठबन्धन सरकार असंवैधानिक बाटोबाट देशलाई बचाउन बनेको जिकिर गर्नुभयो । साथै पाँच दलीय गठबन्धन बनेकोमा संविधान बिरोधि शक्तिहरू खुसी नभएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस