चन्द्रौटा । प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५ औ अधिवेशनबाट अर्जुन बेल्बासेको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । कपिलवस्तु नगरपालिकाको सभा हलमा भएको अधिवेशनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो ।
खुल्ला उपाध्यक्षमा भुपाल थापा, समावेशी उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा माधव बेल्बासे, सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल, कोषाध्यक्ष हरि घिमिरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुसालले जानकारी दिए ।
अधिवेशनमा प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक मानसिंह विकले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले स्वच्छ तथा निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताए । लामो सर्घष पछि अहिलेको व्यवस्था आएको भन्दै यो व्यवस्थालाई टिकाई राख्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । लुम्बिनी प्रदेशको बजेटको विषयमा अनेक टीकाटिप्पणी आएको र त्यस्ता गलत टीकाटिप्पणीका विरुद्धमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले पत्रकारहरूले सत्य तथ्य आधारमा समाचार नागरिकहरू समक्ष लैजानुपर्ने बताए । देश र जनताका लागि माओवादी केन्द्रले गरेका क्रियाकलापहरू नागरिकहरू समक्ष पुर्याउन पत्रकारहरूले कन्जुसाई गर्न नहुने बताए । कतिपय पत्रकारहरू चुनावको बेलामा मात्र पत्रकार हुने भएकोले त्यस्ता व्यक्तिलाई नेतृत्व दिन नहुने टिप्पणी गरे । समाचार लेख्ने पत्रकारहरू सधैँ पछाडि पर्ने भएकोले अधिवेशनले सक्रिय पत्रकारहरूलाई एकजुट बनाउने माध्यम रहेको बताए ।
जिल्ला कार्यालय सचिव सरोज खनालले गत दुई कार्यकाल पत्रकार महासङ्घको नेतृत्व प्रेस सेन्टरले पाएको र आगामी दिनमा पनि सेन्टरले पाउने बताए । सखामा भन्दा पनि गुणस्तरमा ध्यान दिने बताउँदै कलम चलाउने पत्रकारहरूको भूमिकालाई मुल्याङकन गरिने बताए । नव निर्वाचित अध्यक्ष बेल्वासेले आगामी दिनमा सङ्गठनलाई मजबुत बनाउने प्रतिबद्धता गरे ।
कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरी, जिल्ला ईन्चाज डिलाराम भुसाल,संगठनका केन्द्रीय सदस्य मनिस कार्की, दलित पत्रकार सङ्घका प्रदेश अध्यक्ष चिन्ता परियार, वाई सी एलका केन्द्रीय सदस्य शिव बन्जाडे, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष हरिस खनाल लगायतले शुभकामना दिएका थिए ।
अधिवेशनबाट सङ्घको प्रतिनिधिमा चिन्ता परियार, राजेश चौधरी, मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन् । साथै अधिवेशनले स्वेता गिरी, शैलेन्द्र श्रेष्ठ, दिपक भण्डारी लगायत १० जना पत्रकारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ ।