
दाङ । युवास्टार आकाश श्रेष्ठले करिब दुई वर्षदेखि कोरोनाले थिलोथिलो परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्र प्रदर्शनका वैकल्पिक माध्यमको खोजी गरिनुपर्ने कुरामा जोड दिएका छन्।
बिहीबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रको चलायमान कसरी र कहिलेबाट’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेता श्रेष्ठले दर्शक हलमै गएर चलचित्र हेर्ने उचित वातावरण बन्न अझै केही समय लाग्ने सक्ने भएकाले दर्शकसम्म नै चलचित्र पुर्याउन विभिन्न खालका ओटिटी प्लेटफर्म सहितका विकल्पहरु खोज्नतर्फ फिल्म मेकर लाग्नुपर्ने बताए । उनी भन्छन् ‘यदि यसो गर्न सकियो भने नेपाली चलचित्र हेर्ने दर्शक घट्न पाउदैनन्।’

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेता आकाशले भने ‘यो कोरोना कहरमा दर्शकले घरमै बसेर विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट चलचित्रहरु हेरिसकेकाले अब हामीले बनाउने चलचित्रले दर्शकको त्यो चाहाना मेट्न सक्नुपर्छ अन्यथा फेरि दर्शक नेपाली चलचित्रबाट टाढिन सक्छन्।’
कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक ऋषिराज आचार्य, गायिका बिन्दु परियार, नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी लगायतले चलचित्र क्षेत्र धरासायी बन्दै गएको भन्दै यसलाई चलायमान बनाउन जिम्मेवार सबै पक्ष लाग्नु पर्ने सुझाएका थिए ।
चलचित्र पत्रकार संघ नेपाल, दाङका निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण संघ उपाध्यक्ष सन्तोष केसीले गरेका थिए।