ठूला पार्टीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको पार्टी बनाउने छु : वली

राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ जिल्ला क्षेत्र नं. २ ख को अध्यक्षमा निर्वाचित हुनुभएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी चुर्णबहादुर वलीसँग गरिएको कुराकानी सारसंक्षेपमा – सम्पादक

क्षेत्र नं. २ ख को अध्यक्षमा निर्वाचित भइसकेपछि पार्टीलाई कसरी अगाडी बढाउनु हुन्छ ?

म निर्वाचित भएर पार्टीको एक जिम्मेवार पदमा आएको छु । जिम्मेवारी पदमा आउनको लागि त्यति सजिलो स्थिति पनि थिएन र पार्टीमा मेरो मेहनत र मुल्यांकनलाई भोटरहरुले मुल्यांकन गरी क्षेत्र नं. २ ख बाट सर्वसम्मत निर्वाचित गराइ प्रदेश अध्यक्षको जिम्मेवारी दिनु भयो । अब प्रदेश अध्यक्ष भइसकेपछि प्रदेश नं. २ ख लाई राष्ट्रिय प्रजातन्त्र पार्टीमय बनाउने एउटा उद्देश्यका साथ अघि बढ्ने छु । म युवा भएको कारणले र मैले सोचेको परिकल्पनालाई मतदाताहरुले विश्वास गरेर जुन जिम्मेवारी दिनुभयो यस जिम्मेवारीमा रहेर हाल जिरोमा रहेको यस पार्टीलाई ठूला पार्टीहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएको पार्टी बनाउने छु । साथै एउटा कमिटी गठन गरेर हरेक संगठन, भातृसंगठनहरुलाई उजागर गरी अघि बढ्नेछु ।

राप्रपामा आबद्ध भएपछि के कस्ता जिम्मेवारीहरु पाउनु भएको छ ?

हजुरले राम्रो विषय उठाउनु भयो । वास्तवमा दाङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आमाको कोखबाट छोरो जन्मेजस्तै गरी म जन्मजात राप्रपामै रहेको छु । म २०५० सालदेखि राप्रपामा आबद्ध रहेको छु । युवा अवस्थाबाटै थाहा पाउदा नपाउदै पनि यस पार्टीमा आबद्ध भइसकेपछि राप्रपालाई आत्मसात गर्दै अघि बढे । पार्टीका केन्द्रीय नेताहरुले पार्टी टुटफुट गर्नुभयो त्यसबेला पनि म दायाँबायाँ नगरी, कुनै स्वार्थ नराखी अन्य माओवादी, कांग्रेस जस्ता पार्टीमा जान सकिन । यस पार्टीलाई सम्झेर सम्हालेर बसिरहे । पछिल्लो समयको कुरा गर्दा हरेक बाधा अवरोधहरु आए र पार्टीमा लागिसकेपछि धेरै समस्याहरु आए । २०६१ सालमा म सरकारको पक्षबाट मनोनित बिजौरी गाउँ विकासको अध्यक्ष पनि भए र चलाए पनि । त्यसबेला नेपालमा माओवादीको फलामको चिउरा चपाउने अवस्था थियो त्यससमयमा पनि म हिम्मत लिएर गाउँविकासको कामहरु पुरा गरेर छोडे । त्यही क्रममा मलाई माओवादीहरुले मलाई कारबाही पनि गरे । घरमा भएका केही पनि नराखी शरीर मात्र बाचइ दिएको कारणले म राजनीतिक पीडित मानेको छु र समाजले पनि राजनीतिक पीडित भनेर मान्ने गरेका छन् । त्यसैले पार्टीका लागिसकेपछि अन्य पार्टीका साथीहरुले यस पार्टीमा केही पनि छैन हाम्रो पार्टीमा आउन पनि भने तर एउटा पार्टीमा लागिसकेपछि कही पनि जाँदैन भन्ने मेरो सोच थियो ।

मेरो उद्देश्य भनेको जब ठूलो पहाडबाट एउटा ढुंगा खस्यो भने त्यस ढुंगालाई कसैले नचलाउँदा सधैंभरी आफ्नो ठाउँमा गाडिएर बस्छ त्यसलाई कसैले उकास्न सक्दैन त्यही सोचका साथ म पार्टीमा अड्डिए र अड्डिराखेको पनि छु । पार्टीमा म बलियो तरिकाले बसेको कारणले मलाई पार्टीका साथीहरुले इमान्दार कार्यकर्ता हो, इमान्दार नेता बन्छ भनेर विश्वास गरेपछि प्रदेशको एउटा जिम्मेवारी पाएको छु । यस जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता पनि पार्टी गरेको छु । पार्टीलाई मेरो कार्यकालमा मैले के गर्न सक्छु के गर्न सक्दैन जस्तो लाग्छ । वास्तवमा पैसा कमाउनु नै थियो भने नेपाल सरकारकै जागिर खान सक्थे होला, स्वास्थ्य कर्मीको नाताले गाउँघरमा एउटा मेडिकल राखेर पनि काम चलाएकै थिए । मेडिकलबाट आम्दानी राम्रो भएको थियो । राजनीतिमा लागिसकेपछि घरमा बसेर हुँदैन भन्ने सोचले राजनीतिबाट सामाजिक काममा लागे । अहिले राजनीतिक पेशालाई मैले राजनीति भनेको मेरो खेतीपाती, पेनसन, व्यवसाय जस्तो सम्झेको छु जसको कारणले म धेरै खुशी भएको छु । सबै प्रदेश मतदाताहरुले यी कुराहरुलाई मुल्यांकन र विश्वास गरी मलाई भोट दिई निर्वाचित गराउनु भयो । विगतमा जिल्ला विकासको बैठकहरुमा नीति नियमदेखि योजनाका काम लिएर सर्वदलीय बैठकमा संगठन, भातृसंगठनको धेरै काम गरेको छु । मलाई लाग्न थाल्यो अब पार्टीमा काम गर्दैगर्दा मर्नु पर्छ कि भन्ने भान भइसक्यो ।

तपाई निर्वाचित भइसकेपछि पार्टी सुदृढीकरण गर्न के कस्ता कुराको आवश्यक देख्नुहुन्छ ?

वास्तवमा राप्रपामा पार्टी सुदृढीकरण गर्न धेरै कुराको आवश्यक रहेको छ । किनभने मान्छेहरुले आफ्नो स्वार्थ, आकांक्षाहरु राखेकै हुन्छन् त्यति हुँदाहुँदै पनि हाम्रो पार्टीमा विगतमा भएका कमिकमजोरीहरु फार्टी फुट, गुटबन्दी जस्ता क्रियाकलापले गर्दा पार्टी पुरोना भएता पनि काम गर्ने क्रममा केन्द्रीय नेता ज्यूहरुबाट पार्टी कार्यकर्तालाई धेरै धोका दिनुभएको छ । त्यसैले केन्द्रीय नेता ज्यूहरु, जिम्मेवारी नेताज्यूहरु सुध्रिन र आत्मा, भागवानलाई साक्षी राखेर उहाँहरुले आफ्ना कमीकमजोरीलाई सुधार्न जरुरी छ साथै पार्टी टुटफुटबाट जोगाउन उहाँहरुको जिम्मेवारी देख्छु । देशभर रहेका राप्रपाका कार्यकर्ता, नेताज्यूहरुलाई गुट, उपगुट, प्यानल भएर हामी हिड्यौ भनेपछि पार्टी कमजोर हुन्छ किनभने पार्टी सानो छ, ठूलो पार्टी जस्तो धेरै नेता कार्यकर्ता पनि छैनन् त्यसैले सानो परिवारलाई कसरी चलाउन सकिन्छ, एउटा घरपरिवारलाई कसरी चलाउनको लागि के कस्तो भूमिका खेल्नुपर्छ भन्ने सम्झेर हाम्रा नेता ज्यूहरु, कार्यकर्ताहरुको मन बुझेर पार्टीको हरेक क्रियाकलापलाई बुझेर पार्टीको सानो कार्यकर्ताको कुरा सुनेर आफुलाई सानो कार्यकर्ता सम्झेर आफ्ना कमीकमजोरीलाई बिर्सेर काम गर्नु भयो भने पक्कै पनि पार्टी अगाडी बढ्छ । पार्टी हिड्दा कार्यकर्तामा हुने बोझ र भारीहरु लगायत यो मेरो अनुभव पनि हो, आर्थिकरुपमा धेरै समस्या हुन्छ जस्तै कतै जानु प¥यो गाडी भाडा, सञ्चारजस्ता कुरामा धेरै समस्या छ । अझ भन्नुपर्दा पार्टी कार्यालय राख्नु पर्दा पनि कोठाभाडा तिर्ने पैसा पनि जुटाउन गाह्रो हुन्छ यस्ता कुराहरुलाई केन्द्रबाट आर्थिक कुरालाई मध्यनजर गर्न सक्यो भने कार्यकर्ताहरुलाई सहज हुन्छ ।

राप्रपाले किन धर्म सापेक्ष रोजेको ?

किनभने धर्मनिरपेक्षता हाम्रो देशमा लागु नै हुनसक्दैन । ८० प्रतिशतभन्दा माथि सबै मानिस हिन्दुधर्मालम्बीहरु रहेका छन् त्यसैले धेरैभन्दा धेरै हिन्दु जनसंख्या भयो भने अरु कुनै पनि कुरा सफल हुँदैन । अब संघीयताको कुरा पनि आइरहेको छ । हाम्रो नेपाल जस्तो सानो मुलुकमा वास्तवमा यो देशलाई खर्च धान्न गाह्रो भएको बेला केन्द्रीकरणबाट पनि देशलाई चलाउन सक्छौं र देशका हरेक क्षेत्रहरु बाँडेर पनि काम चलाउन सक्छौं त्यसैले हाम्रो देश अन्य राष्ट्र जस्तो ठूलो राष्ट्र पनि होइन । यो देशमा हाम्रो लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि धर्मनिरपेक्षता र संघीयता हामीलाई चित्त नबुझेको कारण यही हो ।

तपाईहरु राप्रपा राजा लिने कि राजासहितको बनाउने ? के छ खाका ?

हाम्रौ पार्टी स्पष्ट रुपमा बोलिसकेको छ । स्पष्टरुपमा हाम्रो पार्टीको विचार र धारणाहरु पनि रहेको छ । यसमा पहिलो कुरा टत राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र हुनुपर्छ भन्ने बोलिसकेको छ । र हिन्दु राष्ट्रिको साथसाथै हाम्रो देशमा राजसंस्था पहिलेदेखि नै आएको र देशलाई कसरी चलाउनुपर्छ के गर्नु गर्नुपर्छ भन्ने राजारहि आएको देश हो । राजाले पनि जनताहरुलाई बलमासी, अन्याय, अत्याचार पनि गरेको थिएन । त्यसैले यो देशमा नेता र राजा कसरी बस्नुपर्छ र कसरी रहनुपर्छ भन्ने हो । हाम्रो पुर्खादेखि नै लामो समयदेखि चलिआएकोले कारणले हाम्रो पार्टीले राजा हुनुपर्छ, राजा चाहिन्छ भनेर कुरा राख्दै आएको छ ।

तपाई लामो समयदेखि राप्रपामा हुनुहुन्छ, देशमा राजनीतिक टुटफुट हुँदा, शक्ति फेरिदा देशलाई कस्तो असर पर्छ ?

वास्तवमा हाम्रो देश नेपालमा राजा हुँदा यस्ता कुनै पनि कुरा थाहा हुँदैनथ्यो । नेपाल राजा बिनाको मुलुक भएको छ । एउटा कुनै जिम्मेवारी नै छैन, एउटा समयावधिसम्म पनि छैन किनभने राजा नभएपछि सबै पर्जा राजा भएको जस्तो हामीलाई भान भईरहेको छ । हामीले यसको अनुभव पनि गर्यो । कसैले कसैको मान्यता र जिम्मेवारी पनि देखिएन, आआफ्नो ठाउँमा मै ठूलो, म नै हुनुपर्छ, म नै गर्छु भन्ने किसिमको एउटा गाइड गर्ने मान्छे पनि नभएको कारणले अब एउटा सरकारलाई जनताले बहुमतका साथ सरकारमा पुर्याउँछ । जनताले केही काम गर्छ भन्ने आसमा सरकारमा पुर्याइसकेपछि त्यो आशा निराशामा बदलिन्छ । त्यसैले आफ्नो समायावधि पुग्दैन उही सत्ता र शक्तिको लागि चलखेल मात्र हुने भएकोले आर्थिक विकासका कुराहरु जनताका सुख, शान्ति, समृद्धिका लागि नारा र कुरा मात्र हुन्छन् तर त्यो नियम र अवधिसम्म काम गर्न नसक्ने कारणले नेपाललाई साह्रै अप्ठ्यारो र कष्टकर टुटफुटको कारणले बनाइराखेको हामीले झलझल्ती देखिरहेका छौं ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा तपाईको एजेण्डा के छ ? स्थानीय तहमा भाग लिने नलिने के छ विचार ?

अहिलेको समयमा राष्ट्रिय पार्टी हुन नसकेको कारण दुरदर्शी र जनताको काम गर्न नसकेर हो कि जस्तो लाग्यो । हामीहरुले यो स्थानीय तहको चुनावको संघारमा आइसकेपछि यतिबेला हाम्रो पार्टीको तर्फबाट हामी स्थानीय चुनावबाट जनता माझ जाने तयारीमा छौ र जान्छौं पनि । किनभने जनतालाई विश्वास दिनुपर्छ, हाम्रा विचार र एजेण्डाहरु जनतामाझ पुर्याउनु पर्छ । हामी जनताको माझमा जानेबेलामा हाम्रा विचार र सिद्धान्तहरु भन्नुपर्दा जनतालाई देशमा कस्तो किसिमको मान्छे आवश्यक पर्छ भन्ने कुरा सुन्नमा आउँछ । हामी गाउँघरमा बस्नेत मान्छे सबैसँग घुलमिल भएकोले पनि जनताहरुको आवश्यता के हो भन्ने थाहा हुन्छ । हाम्रो पार्टीसँग मिल्ने कुराहरु जनताले सुन्न चाहनुहुन्छ । देशमा राजा नभएर हुँदैन भन्ने एउटा अनुभव उहाँहरुले गरिसक्नु भएको छ र यो देश हिन्दु रहेको देश हो । विश्वमै हिन्दुले चिनिएको देश नेपाल हो । विश्वमा चिनिनको लागि पनि हाम्रो चिनारी धर्मको कारणले नेपाल चिनिएको हो । त्यसैले यस्ता कुरालाई जनताको सोच र विचार अनुसार हामीले राजसंस्थासहितको हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्ने हाम्रो सिद्धान्त र विचार लिएर जनतामाझ जानेछौं । हाम्रा विकासका योजनाहरु पनि महंगी, कर बढेकोका कारणले जनताहरुलाई गाह्रो भएको छ । त्यसैले करको विषयमा पनि हेरफेर गर्नु पर्नेछ, जनताहरुलाई पनि केही राहत पुर्याउनु पर्नेछ । विकासका योजनाहरु पुरा नभएकालाई पनि पुरा गर्ने लक्ष्यका साथ हामी जनतामाझ जान चाहन्छौं ।

अन्त्यमा केही छ ?

मलाई मेरो विचार राख्ने अवसर दिनु भएकोमा सवर्mप्रथम त तपाईलाई धन्यवाद । हाम्रो पार्टी राष्ट्रिय पार्टी हुनको लागि निर्वाचन मार्फत जनतामाझ जानेछौं साथै पार्टीलाई नयाँ उत्साह र जाँगरका साथ हाम्रो पार्टीलाई सक्रिय क्रियाशील बनाउनका लागि सम्पूर्ण संगठन पुरा गर्नको लागि हामी हिड्ने छौं ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस