बंगलादेशमा हिन्दुमाथि आक्रमणपछि विरोध प्रदर्शन


एजेन्सी-बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पूजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ ।

मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ । यसै साता दुर्गा पूजाका क्रममा मुस्लिमहरूले हिन्दु मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चारजनाको मृत्यु भएको थियो ।

हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् । धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ ।

यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ । सो आक्रमणको विरोधमा शनिबार बंगलादेशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस