चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिलिज

काठमाडौं । मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ आज (घटस्थापना)देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफै फिचर्ड छन् । मधेसलाई अलग्याउने मुद्दा बोकेका सिके रावतको घरमै पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ।

यो चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डित हुन्। चलचित्र ‘एक’ मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा हो। राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्।

‘राष्ट्रका विरूद्ध हुने वैदेशिक चलखेलहरूलाई असफल बनाउनका लागि फ्रन्टिएरको रूपमा काम गर्ने सिएसआई जस्ता संस्था नेपालमा आवश्यक भइसकेको छ भन्ने सन्देश यो चलचित्रले दिएको छ,’ निर्देशक पण्डितले भने।

मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुति रहेको एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्। प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्।

गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्।

चलचित्र ‘एक’ सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट प्रदर्शनमा आउने भएको छ।

चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस