काठमाडौं । फुमिओ किशिडा आधिकारिकरुपमा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेता बनेपछि ६४ वर्षीय किशिदा जापानको १००औं प्रधानमन्त्री बनेका हुन् ।
पूर्व प्रधानमन्त्री योसिहिडे सुगाले बनेको एक वर्षमा आफ्नो पदबाट राजीनामा दिएसँगै उनको स्थानमा किशिडा प्रधानमन्त्री बनेका हुन् ।
६४ वर्षीय किशिडासँग अब महामारीको कारण सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउने र उत्तर कोरियाको चेतावनीजस्ता चुनौती छ । टोकियो ओलम्पिकपछि जापानमा सरकारप्रतिको अविश्वास बढेको अवस्थामा किशिडाको लागि लोकप्रियता बढाउनुपर्ने अर्को चुनौती छ ।
किशिडाले अब जापानमा हुने आम निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । जापानमा आगामी नोभेम्बरमा आम निर्वाचन हुँदैछ । क्याबिनेटका अन्य मन्त्रालयको टुङ्गो सोमबार अबेरसम्म लाग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यसअघि उनले सन् २०१२ देखि २०१७ सम्म जापानको विदेश मन्त्रीको रुपमा काम गरिसकेकाले लामो समयदेखि प्रधानमन्त्रीको दौडमा थिए । गत वर्ष किशिडा सुगासँग पराजित भएका थिए ।
एजेन्सी