
काठमाडौं । सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्रहरु प्रदर्शन भने अन्योलको अवस्था छ । केही चलचित्रले भने प्रदर्शन मिति सार्वजनिक गरेका छन् । जसमा धन्दागिरी, डाँडाको वरपीपल, चोर र पुलिस, धूम–४, लप्पन छप्पन–२ र ए मेरो हजुर–४ रहेका छन् ।
केही वर्षअघि नै निर्माण सम्पन्न भएको एनवी अन्जान निर्देशित ‘धन्दागिरी’ दशैंको अवसरमा २५ असोजमा प्रदर्शन गरिँदैछ भने सोही अवसरमा सोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ २६ असोज हलमा प्रदर्शन गरिने भएको छ ।
त्यसैगरी, तिहारमा भने दुई वटा नेपाली चलचित्र दर्शकमाझ आउने तयारीमा छन् । आरएल मोक्तानको निर्देशनमा बनेको ‘चोर र पुलिस’ १७ कात्तिकमा रिलिज हुँदैछ । जयकिशन बस्नेत निर्देशित ‘धूम–४’ १८ कात्तिकमा दर्शकमाझ ल्याइँदैछ ।
मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ भने शिवरात्रीको अवसरमा १३ फागुनमा प्रदर्शन गरिने छ । झरना थापाको चलचित्र ‘ए मेरो हजुर–४’ नयाँ वर्ष ०७९ को अवसर पारेर २५ चैतमा प्रदर्शन गरिने छ ।
तिहारपछि तत्कालै नेपाली दर्शकले कुन नेपाली चलचित्र हेर्न पाउने छन्, त्यो भने अहिलेसम्म टुंगो लागेको छैन ।