एजेन्सी । इक्वेडरको गुआयाकिल सहरमा रहेको कारागारमा कैदीहरूको दुई समूहबीच भएको झडपमा मारिनेको सङ्ख्या ११६ पुगेको छ । कारागारमा रहेका दुई ग्याङबीच मंगलबार झडप भएको थियो । बुधबार कारागारको स्थिति नियन्त्रणमा आएको अधिकारीहरूले बताएका थिए ।
तर, बिहीबार पुनः सो क्षेत्रका बासिन्दाले विस्फोट तथा गोलाबारीको आवाज सुनेको बताएका छन् । लगत्तै प्रहरीले ४ सय अधिकारीहरूलाई स्थिति नियन्त्रणमा लिनका लागि पठाएको बताएको थियो । इक्वेडरको प्रहरीले कारागार क्षेत्रभित्र प्रहरीहरू प्रवेश गरिरहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।
मंगलबार कारागारको एक भागमा रहेका कैदीहरूले दुलो बनाएर अर्को भागमा पुगेर विरोधी ग्याङका सदस्यहरूमाथि आक्रमण गरेपछि कारागारमा झडप सुरु भएको थियो । कम्तीमा ६ कैदीहरू अङ्गभङ्ग पारिएका थिए भने अन्यमाथि गोली प्रहार गरिनुका साथै ग्रिनेड हमला गरिएको थियो ।
प्रहरीले ६ जना खाना पकाउनेहरूलाई सुरक्षित उद्धार गर्न सफल भएको थियो । घटनामा दुईजना प्रहरी घाइते भएको बताइएको छ ।