धनगढी । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिम प्रदेशमा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागि १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो। अब परिक्षणकालीन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ।
परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए । उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताए ।
उनले भने, ‘हामी परीक्षार्थीले परीक्षा दिएको एक हप्तामा एक वर्षीय परीक्षण लाइसेन्स दिनेछौँ, सवारी चालक अनुमति पत्र लिनुभएकाहरुले एक वर्षभित्र ५ वटाभन्दा बढी गल्ती गर्नुभयो भने लाइसेन्स खारेज हुन्छ, गल्ती नगरेमा स्मार्ट लाइसेन्स दिनेछौँ ।’
चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ।