धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन् ।
शाहले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले बिहीबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय दिइएको छ। मुख्यमन्त्री शाहले राजीनामा दिएपछि अब सत्ता समीकरणमा रहेका दलहरूले नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी थालेका छन्।
पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने भनिएको छ । नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।


