तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् पर्व तिहार २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्दै यसले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएका हुन् । काग, कुकुर, गाई र गोरूको पूजा गर्ने परम्पराले जीवजन्तुप्रतिको सम्मान र कृतज्ञताको भावना अभिव्यक्त गर्ने उनले उल्लेख गरेका छन् ।

लक्ष्मीपूजा, भाइटीका तथा देउसी–भैलोले पारिवारिक आत्मीयता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने भन्दै उनले मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । देउसी–भैलोबाट सङ्कलित सहयोग रकम सामाजिक हित र रचनात्मक कार्यमा उपयोग गर्ने परम्परालाई महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

यस्तै उनले मुलुकका समस्या र चुनौतीको दीर्घकालीन समाधान संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र संस्थागत सुशासनबाट मात्रै सम्भव हुने बताएका छन् । यसका लागि सबै पक्षबीच एकता, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले तिहारले दिने अनुशासन, सद्भाव र सहयोगको सन्देशलाई आत्मसात् गर्दै प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् ।

त्यस्तै, ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न कृषि, पशुपालन, उत्पादन, उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको उनले बताएका छन् । युवा पुस्ताको सोच, चाहना र सम्भावनालाई सम्बोधन गर्दै आत्मनिर्भरता, उद्यमशीलता र नवप्रवर्तनमा आधारित विकासलाई सरकारले जोड दिएको मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस