दाङ कांग्रेसको दश वटै पालिकामा नेतृत्व चयन

देउवा र पौडेल पक्षको बराबर

तुलसीपुर । नेपाली कांग्रेसको पालिकामा नयाँ नेतृत्वका लागि भएको निर्वाचनका मत परिणाम आउन थालेको छ । दाङका दश वटै पालिकामा पनि निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

शनिबार भएको निर्वाचनबाट तुलसीपुर उपमहानगरपालिकामा ४१ वर्षीय सुरेश हमाल र घोराही उपमहागनरपालिकामा ३१ वर्षीय तीलक रावत निर्वाचित भएका छन् । हमाल पार्टीभित्र रामचन्द्र पौडेल पक्षधरका हुन् भने रावत सभापति शेरबहादुर देउवा पक्षधरका हुन् ।

त्यस्तै लमही नगरपालिकामा ३० वर्षीय सन्तोष बुढाथोकीले ७९ वर्षीय शिवु चौधरीलाई पराजित गर्दै नगर सभापतिमा निर्वाचित भएका हुन् । नगर सभापति जितेका बुढाथोकी देउवानिकट हुन् ।

दंगीशरण गाउँपालिकामा पौडेल पक्षधर शम्भु गिरी निर्वाचित भएका छन् । गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका नातेदार पर्छन् । बबई गाउँपालिकामा पनि निर्वाचनबाट पौडेल पक्षधर प्रकाश बस्नेत विजयी भएका छन् ।

निर्वाचनबाटै राजपुर गाउँपालिकामा नरेन्द्र भण्डारी विजयी भएका छन् । भण्डारी देउवा प्यानलका हुन् । त्यस्तै गढवा गाउँपालिकामा देउवा निकटका किरण पौडेल विजयी भएका छन् । राप्ती गाउँपालिकाको सभापतिमा विद्याशरण चौधरी सर्वसम्मत चयन भएका छन् । उनी पौडेल निकटका हुन् ।

त्यस्तै बंगलाचुली गाउँपालिकामा पनि जागेश्वर अधिकारीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिकारी देउवा प्यालनका हुन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा पनि झलक केसीको नेतृत्वमा सर्वसम्मत चयन गरिएको छ । केसी पार्टीभित्र पौडेल प्यानलका हुन् ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस