आजदेखि देउवा समूहको वडा अधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । पार्टी पूर्वसभापति देउवाले एक अपिल जारी गर्दै देशभरका वडामा एकैसाथ सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई भव्य रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्।

कांग्रेसको संस्थापन पक्षले १८ असोजदेखि हुने १५औं महाधिवेशनको तयारी गरिरहेकैबेला देउवा समूहले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।

झन्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसका लागि यो महाधिवेशन निकै महत्त्वपूर्ण रहेको देउवाले उल्लेख गरेका छन्। नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको बलिदान, त्याग र सङ्घर्षलाई थप मजबुत बनाउन १५औँ महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्।

जारी अपिलमा देउवाले भनेका छन्, ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस