‘कमेडी च्याम्पियन २’को विजेता शनिबार घोषणा हुने

यसबर्षको ‘कमेडी च्याम्पियन–२’ का उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो ।

विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु र आरोह–अवरोह पार गर्र्दै नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन फाइनलको नजिक आइपुगेको छ । शनिबार हुने फाइनलमा एक जना प्रतिस्पर्धीले दोश्रो सिजनको उपाधि जित्छन् । साथमा, उनले कार र थुप्रै गिफ्ट ह्याम्पर पनि जित्नेछन् ।

ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, लगायतको क्यारिकेचर गरेर दर्शकको मन जिते । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको छ ।

सिक्किमका विक्की अग्रवालको कमेडी नयाँ शैलीको छ । उनी, कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न उनी सफल छन् । विक्कीको कमेडीले नयाँ खुराक पस्किरहेको छ ।

शनिबार बेलुकी ९ बजेपछि दर्शकले ‘कमेडी च्याम्पियन २’को फाइनल कान्तिपुर टीभी र ओएसआर डिजिटलमा हेर्न पाउनेछन् । अब, शनिबार यो शोको निर्माण टिमले विजेताको घोषणा भने लाइभ नै गर्नेछ । निर्देशक विशाल भण्डारीका अनुसार, विजेताको घोषणाको लाइभ प्रशारण बेलुकी साढे १० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस