हाइटीका प्रधानमन्त्रीले देश छाड्न प्रतिबन्ध

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ।

गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता भएको आशंकामा अनुसन्धान नसकिंदासम्म देश छाड्न प्रतिबन्ध लगाइएको हो।

एकजना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी गरिरहेका बीबीसीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रधानमन्त्रीसँग ती ब्यक्तिको बारम्बार टेलिफोन संवाद हुने गरेको देखिएको बताइएको छ। राष्ट्रपति मोइजलाई जुलाई ७ तारिखका दिन आफ्नै निवासमा बन्दुकधारीहरुले हत्या गरेका थिए।

मोइजको हत्या आरोपितमध्ये ४४ जनालाई प्रहरीले पक्राउ गरिसकिएको छ। ती मध्ये १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी रहेका जनाइएको छ। तीनजना हमलाकारीको भने प्रहरीसँगको भीडन्तमा सोही समयमा मृत्यु भएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस