भिडिओ अन गरेर भेरी नदीमा नुहाउन पसेका दुई युवा बेपत्ता

सुर्खेत । भेरी नदीमा नुहाउन पसेका बाँकेका दुई युवा बेपत्ता भएका छन्। नुहाउन नदीमा पस्नुअघि मोबाइल सेल्फी मोडमा भिडिओ अन गरेका नेपालगञ्ज उपमहानगरपालिका–७ का १९ वर्षीय अमिर अली शाह र बुदेश कुमार तमोली मंगलबार दिउँसोदेखि बेपत्ता भएका हुन्।

सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरू मोबाइल सेल्फी मोडमा राखेर नुहाउन नदीमा पसेका थिए। नदीमा पसेपछि दुवै जना बाहिर नआएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।

दुवै जना सुर्खेतमा रहेका आफन्तको घरमा भेटघाट गरेर बाँकेस्थित घर फर्किने क्रममा भेरी नदी किनारमा पुगेका थिए। वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी नदी र झुप्राखोलाको दोभानमा उनीहरू मंगलबार दिउँसो करिब पौने ३ बजे नदीमा पसेको प्रहरीले जनाएको छ।

नदी किनारमा उनीहरूले प्रयोग गर्ने भे १४ प ५६७० नम्बरको मोटरसाइकल, दुई जोर जुत्ता, कपडासहितको झोला र सेल्फी स्टिकमा राखिएको मोबाइल फेला परेको थियो। मानिस भने देखिएनन्।

त्यसपछि वीरेन्द्रनगर नगरपालिका–७ का स्थानीय बालकृष्ण खरेल र इन्द्रलाल खरेलले दिउँसो २ः५५ बजे स्थानीय प्रहरी चौकी सुब्बाकुनालाई खबर गरेका थिए।

सूचना पाएपछि प्रहरी सहायक निरीक्षक तिलक कँडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले नदी किनारमा मोटरसाइकल, मोबाइल, सेल्फी स्टिक, जुत्ता, कपडा र सवारी चालक अनुमतिपत्र फेला पारेको थियो।

एसपी पोखरेलका अनुसार नदीमा नुहाउन पसेका उनीहरूलाई पानीको तीव्र बहावले बगाएको हुन सक्ने अनुमान गरिएको छ। मंगलबार दिनभर खोजी गर्दा पनि दुवै जना फेला नपरेपछि खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

बुधबार पनि उनीहरूको खोजी जारी रहने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस