काठमाडौं । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन् । प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पहिलो दिन पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना गर्ने तय भएको छ । सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रोका खेल सञ्चालन हुनेछन् ।
अन्य खेलका लागि विभिन्न जिल्लालाई केन्द्र तोकिएको छ । टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा, आईटीएफ तेक्वान्दो दैलेखमा तथा बुद्धिचाल कालिकोटमा आयोजना हुनेछन् । त्यसैगरी पौडी र सुटिङका खेल नेपालगञ्जमा सञ्चालन गर्ने तयारी छ ।
लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल आयोजना हुने भए पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल राखिएको छैन ।
प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । विभिन्न प्रदेशका खेलाडी तथा टोलीहरू पनि प्रतियोगितामा सहभागी हुन वीरेन्द्रनगर पुगिसकेका छन् ।
वीरेन्द्रनगरस्थित रंगशाला सोमबार हस्तान्तरणसँगै उद्घाटन गरिएको छ । रंगशालाको उद्घाटन मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका हुन् । प्रतियोगिताबारे जानकारी गराउन र प्रचारप्रसार गर्ने उद्देश्यले वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो ।
र्यालीमा मुख्यमन्त्री मंगलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागिता रहेको थियो ।
लामो समयको तयारी र प्रतीक्षापछि कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । अधिकांश खेल सुर्खेतको रंगशाला तथा आसपासका खेलस्थलमा सञ्चालन हुनेछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतमै हुनेछ भने समापन मङ्सिर २७ गते गर्ने तालिका छ ।


