घोराही–तुलसीपुर चारलेन सडकको एक वर्षमा १७ प्रतिशत मात्रै काम

घोराही । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारको काम सुरु भएको एक वर्ष बितिसक्दा पनि भौतिक प्रगति १७ प्रतिशतमा सीमित भएको छ । २१ दशमलव ५८ किलोमिटर लामो सडक विस्तारका लागि निर्माण कम्पनीले एक वर्षको अवधिमा १७ प्रतिशत काम पूरा गरेको हो । यस अवधिमा सडक निर्माणमा ३७ करोड रुपैयाँभन्दा बढी खर्च भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार घोराहीको रतनपुर चोकदेखि तुलसीपुरको बेलझुन्डीसम्मको १४ किलोमिटर सडकखण्डमा माटो कटान र ३८ वटा बक्स कलभर्ट निर्माण गरिएको छ । त्यस्तै, नारायणपुर, खैरा, दुधरास र सौडिकुला क्षेत्रमा छ किलोमिटर पक्की नाला निर्माण सम्पन्न भएको छ । माटो कटान, नाला र कलभर्ट निर्माणको काम सकिएका स्थानमा ग्राभेल गर्ने तयारी भइरहेको विष्टले बताए ।

उनका अनुसार घोराही उपमहानगरपालिका–१० स्थित गुर्जेखोलादेखि तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुन्डीसम्म सडक क्षेत्रमा रहेका विद्युत् पोल स्थानान्तरणको काम सकिएको छ । घोराहीदेखि गुर्जेखोलासम्म भने पोल स्थानान्तरणको काम भइरहेको छ ।

वर्षायाम र त्यसलगत्तै दसैँतिहार पर्व परेकाले निर्माणको कामले अपेक्षित गति लिन नसकेको कार्यालय प्रमुख विष्टले बताए । अब चाडपर्व सकिएकाले निर्माण कार्यलाई तीव्रता दिइने उनको भनाइ छ । माटो कटान, नाला र कलभर्ट निर्माण सम्पन्न भएका क्षेत्रमा ग्राभेलको काम अघि बढाइने उनले जानकारी दिए ।

घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६ को हात्तीखौवासम्मको सडक विस्तारका लागि दुई अर्ब ५३ करोड रुपैयाँमा काठमाडौँको दिवा/बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माण कम्पनीले गत वर्ष मङ्सिर १ गतेदेखि काम सुरु गरेको हो । सम्झौताअनुसार २०८५ असार २४ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सडक विस्तारअन्तर्गत सहरी क्षेत्रमा फुटपाथसहित ३० मिटर चौडाइ कायम गरिनेछ । त्यसमध्ये २० मिटर सडक कालोपत्रे हुनेछ भने ग्रामीण क्षेत्रमा १५ मिटर चौडाइमा कालोपत्रे गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यसअघि भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा २०७६ सालदेखि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु गरिएको थियो । तर, निर्माण कम्पनीको लापर्बाहीका कारण लामो समयसम्म काम अलपत्र परेपछि सरकारले २०८० जेठमा भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । त्यसपछि नयाँ ठेक्का प्रक्रियामार्फत अहिले सडक विस्तारको काम अघि बढाइएको हो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस