सल्यानमा मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना

सल्यान । सल्यानमा जन्मिएर नेपालको २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री बनेका मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा शालिक निर्माण सम्पन्न भएसँगै उनको सम्मानमा शालिक राख्ने सल्यानी युवाहरूको वर्षौँदेखिको चाहना पूरा भएको छ ।

शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको सल्यानी युवाहरूको कुपिण्डे सम्मेलनले २२ बुँदे घोषणापत्र जारी गर्दै मरिचमान सिंह श्रेष्ठको सम्मान र सम्झनामा चोकको नामकरण गर्ने प्रस्ताव अघि सारेको थियो ।

सोही घोषणाअनुसार २०८० वैशाख ३ गते समृद्धि सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीको नेतृत्वमा श्रीनगरबाट सल्यान खलङ्गा र रुकुम छुट्टिने मुख्य बिन्दुलाई ‘मरिचमान चोक’ नामकरण गरिएको थियो । त्यसक्रममा चोकमा अस्थायी संरचनासमेत निर्माण गरिएको थियो । त्यहीँबाट सुरु भएको सम्मानको अभियानले अहिले शालिक स्थापनासँगै पूर्णता पाएको छ ।

मरिचमान सिंह श्रेष्ठ फाउन्डेसन र ‘सल्यानी युवाहरू’को अगुवाइमा स्थानीय युवा तथा नागरिकको सहयोगबाट शालिक निर्माण गरिएको हो ।

श्रीनगरमा स्थापित शालिकले सल्यानको पहिचानसँग जोडिएको एउटा ऐतिहासिक व्यक्तित्वलाई सम्झाउनेछ । जिल्लामै जन्मिएर देशको प्रधानमन्त्रीसम्म पुगेका श्रेष्ठको योगदान र इतिहास नयाँ पुस्तालाई चिनाउने माध्यमका रूपमा समेत यसलाई लिइएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस