काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा ६ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने दुर्घटनास्थलबाट थप तीन जनाको शव केहीबेरअघि फेला परेको हो। पछिल्लो पटक फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २५र२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।
त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल ९चालक० को पनि दुर्घटनामा मृत्यु भएको छ।
घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।
अस्पतालबाट डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन्।
चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।


