आज भाइटीका : दिदीबहिनीको हातबाट टीका थाप्दै दाजुभाइ

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइटीका पर्व मनाउँदैछन्। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख पर्वका रूपमा रहेको छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

आज दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। टीका लगाइसकेपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा रहेको छ। दिदीबहिनीको पूजा र सम्मान गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।

भाइटीका दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् भने त्यसअघि तुला राशिमा रहनेछन्। तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने उनले बताए। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ।

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि अष्टदलमा अष्टचिरञ्जीवीका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराजलगायत देवताको पूजा आराधना गर्ने परम्परा छ।

दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने चलन रहेको छ। सप्तरङ्गी टीकाको प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार कपडा, दक्षिणा तथा अन्य उपहार दिएर दिदीबहिनीप्रति सम्मान र माया प्रकट गर्ने परम्परा छ।

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस