सल्यानमा नालाको पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यान । सल्यानमा पानी जमेको नालामा डुबेर दुई बालकको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका–७ घुँईयाबारीका आठ वर्षीय योगेश बुढा र अंकित बुढा शुक्रबार बेलुकी बबई नदी किनारको सानो नालामा डुबेको अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार अचेत अवस्थामा रहेका दुवै बालकलाई बेलुकी ७ बजेतिर उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याइएको थियो। स्वास्थ्यकर्मीले जाँचपछि बेलुकी पौने ८ बजे दुवैलाई मृत घोषणा गरेका थिए।

दुवै बालक बेलुका खेल्दै सो क्षेत्रमा पुगेको र पानी जमेको नालामा पसेको हुन सक्ने प्रहरीको अनुमान छ। साँझसम्म खेल्न गएका बालक घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार योगेश स्थानीय वीरेन्द्रकुमार बिसीका छोरा हुन् भने अंकित शशी बुढाका छोरा हुन्। प्रहरी चौकी घुँईयाबारीका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापाका अनुसार दुवै बालकको शव स्थानीय मेडिकलमा राखिएको छ।

टोलीले शनिबार बिहान घटनास्थलको आवश्यक मुचुल्का तयार पारेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस