दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

घोराही । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–१२ का ४० वर्षीय शेरमान घर्तीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घोराही–१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा तथा तुलसीपुर उपमहानगरपालिका–१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन्।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी घोराही–१२ को साजखर्कबाट पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका शेरमानलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। चिकित्सकले उनलाई शुक्रबार बेलुकी मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले जिपका चालक तथा धनी घोराही–१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस