दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेको हेलिप्याडमा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मङ्गलबार बिहान करिब ८ः११ बजे अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।

दुर्घटनामा न्युजिल्यान्डका ४९ वर्षीय सेलिशकुमार पटेलसहित फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन् ।

घाइते पटेल र पाइलट प्रजापतिलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ । डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस