काठमाडौँ । आजदेखि नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँमा सुरु हुने भएको छ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।
यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।


