दाङ रास्वपाको संगठन विस्तार लुम्बिनी प्रदेश राजधानीबाट

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङले संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित अभियान लुम्बिनी प्रदेश राजधानीबाट सुरु गर्ने भएको छ । दाङमा प्रदेश कार्यालय उद्घाटनसँगै प्रदेशस्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम अघि बढाउन लागिएको हो ।

पहिले लमहीमा रहेको रास्वपाको कार्यालय हाल प्रदेश राजधानीस्थल मौरीघाटमा स्थानान्तरण गरिएको छ । सो कार्यालय उदघाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन रास्वपा महामन्त्री विपिन आचार्यसहित दाङबाट निर्वाचित सबै सांसदहरु आज दाङ देउखुरी पुग्दैछन् ।

रास्वपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान सुरु गर्न लागिएको बताए । ‘संगठन विस्तारसहितको अभियान हामी प्रदेश राजधानीबाटै सुरु गर्दैछौँ,’ सभापति खनालले भने, ‘यो विस्तार अब स्थानीय तह, प्रदेश र निर्वाचन क्षेत्र हुँदै वडा तथा टोलसम्म पुग्ने छ ।’

खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीयस्तरका समस्या तथा आवश्यकतालाई राजनीतिक एजेन्डासँग जोड्ने काम हुनेछ । ‘त्यसपछि स्थानीय तह र निर्वाचन क्षेत्र केन्द्रित गतिविधिलाई थप व्यवस्थित गरिने छ,’ उनले भने

साथै असोज २२ गते पर्यटन मन्त्री खडकराज पौडेल (गनेश) पनि दाङ जिल्ला आउने कार्यक्रम छ । उनी तुलसीपुरस्थित टरीगाउँको विमानस्थल अवलोकनमा जाने लगायतका कार्यक्रम छ । वर्तमान सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेटसमेत विनियोजना गरेको छ ।

रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र उम्मेदवार छनोटसम्बन्धी तयारी अघि बढाइरहेको छ । पार्टीले ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद तथा केन्द्रीय सदस्यलाई परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस