सल्यानमा स्क्रब टाइफस सात पालिकामा फैलियो

सल्यान । सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिदै गएको छ । सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ ।

स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै दुई हजार ४०० भन्दा बढीको परीक्षण गर्दा ४७२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि अध्ययनका लागि थप विज्ञसहितको टोली आउन लागेको सल्यानकी प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले बताइन ।

संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक महिला, एक बालक र छ पुरुष छन् । स्वास्थ्यकर्मीका अनुसार मृतकमध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक छन् । जिल्लाका धेरै क्षेत्रमा संक्रमण फैलिएपछि रोग नियन्त्रण महाशाखा, टेकुबाट अनुसन्धान टोली सल्यान आउने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिइन ।

‘जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलनुको कारणबारे थप अध्ययन तथा विश्लेषण गर्न टोली परिचालन हुन लागेको छ,’ उनले भनिन् ।

संक्रमण अहिले फैलिएर सल्यानका सात पालिकामा पुगेको छ । जसमा दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डे छन् । यी पालिकाहरूमा ज्वरोका बिरामी बढेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी किटबाट स्क्रब टाइफस परीक्षण गरिएको हो ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार दार्मामा ११६, कुमाखमा ६५, बागचौरमा १७५, छत्रेश्वरीमा आठ, कालीमाटीमा दुई, कपुरकोटमा ५३ र बनगाड कुपिण्डेमा सात जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, जिल्ला अस्पताल सल्यानमा परीक्षण गरिएका ७८५ जनामध्ये ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीहरूले घाँसपात, दाउरा र कृषि कामका क्रममा किर्नोको टोकाइबाट जोगिन शरीर पूरै ढाक्ने कपडा, पञ्जा र घुँडासम्म छोपिने जुत्ता लगाउन आग्रह गर्दै आएका छन् । घर वरिपरिका झाडी तथा बुट्यान सफा राख्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस