तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

तुलसीपुर । तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने भएको छ। आर्टिस्टिक इन्टरटेन्मेन्टको आयोजनामा यही असोज ७ गते अरनीको मैदानमा बिहान ७ बजे प्रतियोगिता हुन लागेको हो।

कार्यक्रम ब्ल्याक डायमन्ड फिल्मस् प्रालिका अध्यक्ष तथा कार्यक्रमका संयोजक झग्गु भण्डारीको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण खड्काको प्रमुख आतिथ्यतामा सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो ।

प्रतियोगितामा महिलाहरुको सहभागिता, आत्मविश्वास र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने पनि आयोजकले जनाएको छ।

त्यस्तै प्रतियोगितामा सहभागी महिलाले निर्धारित लाइनभित्र स्कुटर चलाउँदै सबैभन्दा कम गतिमा अन्तिम रेखा पार गर्नुपर्ने प्रतिस्पर्धा रहेको छ । प्रतियोगिताका क्रममा निर्धारित लाइनभित्रै रहनुपर्ने र स्कुटर चलाउँदा खुट्टा जमिनमा टेक्न नपाइने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ, द्वितीयलाई २ हजार ५ सय रुपैयाँ र तृतीय हुनेलाई १ हजार २ सय ५० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस्तै, प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई दुईवटा टिकट उपलब्ध गराई नेपाली कथानक चलचित्र ‘बा एक योद्धा’ हेर्ने अवसर प्रदान गरिने संयोजक भण्डारीले जानकारी दिए। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीका परिवारका सबै सदस्यलाई समेत उक्त चलचित्र हेर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण खड्काले दाङलाई सिने नगरीका रूपमा चिनाउन तथा विकास गर्न दाङका युवाहरू बसन्त लम्साल र अनिल बुढाथोकीले निर्माण गरेको चलचित्र ‘बा एक योद्धा’ले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले स्थानीय युवाको सिर्जनशीलता र प्रयासमार्फत दाङको पहिचानलाई थप फराकिलो बनाउन सकिने बताए।

कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ, लुम्बिनी प्रदेशका संयोजक शिवकुमार पुन र दाङ शाखा अध्यक्ष निरला अर्याललगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । प्रतियोगितामा सहभागिताका लागि ९८२३०६७८८८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस